त्रिशूली बस दुर्घटनामा आठ यात्रुको मृत्यु, १७ काे उद्धार
त्रिशूली नदीमा आज बिहान भएको बस दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने १६ जना घाइते छन्।
काठमाडौंबाट पोखरा हुँदै बेनी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका-२, चालिसेबाट त्रिशूलीमा खसेको थियो।
दुर्घटनामा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ। त्रिशूली नदीबाट आठ जनाको शव निकालिएको र सनाखत हुन बाँकी रहेको छ।
त्यस्तै, दुर्घटनास्थलबाट १७ जनाको उद्धार गरिएको छ। उनीहरूमध्ये १६ जना घाइते छन्। घाइतेको गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ।
बसमा कति यात्रु थिए भन्ने यकीन भएको छैन। उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका छन्।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन। बस अनियन्त्रित भएर त्रिशूलीमा खसेको हुने सक्ने प्रहरीको अनुमान छ।