जुम्लामा एनसेलको फोरजी सेवा
एनसेल आजियाटा लिमिटेडले कर्णाली प्रदेशको जुम्लामा फोरजी सेवा शुरू गरेको छ।
एनसेलले चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा एक-एक गरी तीन वटा नयाँ टावर जडान गरेको छ।
मोबाइल ब्रोडब्यान्ड र भ्वाइस सेवाको पहुँचबाट जिल्ला सदरमुकाम खलंगा लगायत क्षेत्रमा सेवा दिंदै आएको थियो। यसअघि कम्पनीले भी-स्याट प्रविधिबाट जुम्लामा आधारभूत मोबाइल सेवा उपलब्ध गराउँदै आएको थियो।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कयुमोभले एनसेलको ध्यान कनेक्टिभिटी र प्रविधिले ल्याउने अवसरसँग उपभोक्तालाई जोड्न प्रभावकारी दूरसञ्चार सञ्जाल निर्माणमा केन्द्रित रहेको बताए। सरकारको डिजिटल नेपाल भिजनमा योगदान गर्दै विकट क्षेत्र जुम्लाका जनताका लागि फोरजी सेवा उपलब्ध गराउन पाएकोमा खुशी लागेको उनको भनाइ थियो।
एनसेलले २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजी सेवा शुरू गरेको थियो। गत आर्थिक वर्ष २०७९/८० मा मात्रै एनसेलले देशका विभिन्न भागमा ३३८ नयाँ साइट स्थापना गरेको थियो। त्यसैगरी, एनसेलले ६० भन्दा बढी जिल्लाका झन्डै एक हजार ४५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको छ।