ग्लोबल आइएमई क्यापिटलको एकीकृत कारोबार शुरू
ग्लोबल आइएमई क्यापिटल लिमिटेड र बीओके क्यापिटल मार्केट लिमिटेडबीच मर्ज भई बनेको ग्लोबल आइएमई क्यापिटल लिमिटेडको एकीकृत कारोबारको शुरू भएको छ।
ग्लोबल आइएमई ब्यांक लिमिटेड र ब्यांक अफ काठमाण्डू मर्ज भई २०७९ पुस २५ गतेदेखि ग्लोबल आइएमई ब्यांकको नामबाट एकीकृत कारोबार शुरू गरिएको थियो। दुवै ब्यांक मर्ज भएसँगै सहायक कम्पनी पनि मर्ज भएर ग्लोबल आइएमई क्यापिटल लिमिटेड बनेको हो।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच एकीकृत कारोबारको औपचारिक शुभारम्भ गरेका हुन्। कार्यक्रममा बोल्दै अध्यक्ष हमालले मर्चेन्ट ब्यांंकर कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धक तथा प्रत्याभूतिकर्ताका रूपमा कार्य गर्दा संस्थागत दायित्व समेत वहन गर्दै संस्थागत सुशासन सहित प्रभावकारी सेवा प्रवाहमा लाग्न आग्रह गरे।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि पूँजीका आधारमा दोस्रो ठूलो कम्पनीका रूपमा स्थापित भएकोमा सोही अनुरूप सेवाको गुणस्तर कायम गरी नियामकीय निकायको निर्देशन पालना गर्दै अगाडि बढ्न सुझाव दिए।
ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अध्यक्ष प्रेमराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्लोबल आइएमई ब्यांक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य लगायत ब्यांंकका कर्मचारी, नियामकीय निकाय नेपाल धितोपत्र बोर्ड, सीडीएस एन्ड क्लियरिङ लिमिटेडका विशिष्ट व्यक्तिको उपस्थिति थियो।