जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि
सरकारले गायक जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि प्रदान गर्ने निर्णय गरेको छ।
बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले टुहुरेलाई ‘जनगायक’ को उपाधि प्रदान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बताइन्।
साङ्गीतिक क्षेत्रमा जेबी टुहुरेका नामले प्रसिद्ध जुठबहादुर खड्कीले सानैदेखि गीत गाउन थालेका थिए। बिस्तारै कम्युनिस्ट विचारधारासँग नजिक हुँदै गएपछि उनले जनवादी गीत गाउन थालेका थिए।
जनवादी गायकका रूपमा चिनिएका उनको ‘आमा, दिदी, बहिनी हो, कति बस्छौ दासी भई...’ चर्चित गीत हो। उनको दुई वर्षअघि निधन भएको थियो।
यस्तै, मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको संयुक्त राष्ट्रसंघको भ्रमण स्वीकृत गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन प्रधानमन्त्री दाहालको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको शर्माले बताइन्।
बैठकले धुलिखेल अस्पताल, ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ को उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई धितोपत्र तथा निष्कासन सातौं संशोधन नियमावली, २०८० संशोधन गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ।