आठौं तामाङ ज्ञान महोत्सव आयोजना हुँदै
महोत्सवमा प्रा. महेन्द्र लावती, सिके लाल र प्रा. दिनेशराज पन्तबाट विद्वत् प्रवचन पनि हुनेछ।
९१औं तामाङ पहिचान दिवसको उपलक्ष्यमा आठौं तामाङ ज्ञान महोत्सव आयोजना हुँदै छ। आजबाट शुरू हुने महोत्सव भदौ ७ गते (भोलि) सम्म चल्ने छ।
जंगवीर तामाङ नेतृत्वको टोलीले तत्कालीन राणा प्रधानमन्त्री भीमशमशेर समक्ष आफूहरूलाई ‘तामाङ’ भनियोस् भनी मागपत्र राखेको र उक्त माग स्वीकार गरी प्रधानमन्त्री राणाले १९८९ भदौ ६ मा नेपाल सरहदभित्र विभिन्न नामले बोलाइने जातिलाई तामाङ लेख्न-लेखाउन सनद-पत्र जारी भएकाले सोही दिनलाई पहिचान दिवस मानिएको हो।
यही पहिचान दिवसको उपलक्ष्यमा तामाङ न्हाङखोर, तामाङ डाजाङ र तामाङ राष्ट्रिय पुस्तकालय लगायत संस्थाहरूको संयुक्त पहलमा ज्ञान महोत्सव आयोजना हुँदै आएको छ।
यस पटक महोत्सवमा १५ वटा कार्यपत्र प्रस्तुत हुने र प्यानल छलफल हुने आठौं तामाङ ज्ञान महोत्सव मूल आयोजक समितिका संयोजक निष्णु थिङले जानकारी दिएका छन्। साथै महोत्सवमा प्रा. महेन्द्र लावती, सिके लाल र प्रा. दिनेशराज पन्तबाट विद्वत् प्रवचन पनि हुनेछ।