पहिलो खेलमा नेपाल विजयी, ६ विकेटले हार्यो हङकङ
बलिङतर्फ आज सीता रानामगर एक्लैले पाँच विकेट लिइन्। उनले चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेकी थिइन्। सीता ‘प्लेयर अफ द म्याच’ पनि भइन्।
चार देश सम्मिलित महिला टी-ट्वेन्टी शृङ्खला अन्तर्गत हङकङ विरुद्धको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको छ। मलेशियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेर हङकङले नेपाललाई ८५ रनको लक्ष्य दिएको थियो।
उक्त लक्ष्य नेपालले १५ ओभर पाँच बलमा चार विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि सम्झनाकुमारी खड्काले अविजित ३६ रन बनाइन्। यस्तै पूजा महतोले १६ र कप्तान रुविना क्षेत्री बेलबासेले १० रनको योगदान दिइन्।
पूजाको आज डेब्यू खेल समेत थियो। उनले बलिङतर्फ पनि एक विकेट लिइन्।
बलिङतर्फ आज सीता रानामगर एक्लैले पाँच विकेट लिइन्। उनले चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेकी थिइन्। सीता ‘प्लेयर अफ द म्याच’ पनि भइन्।
यस्तै, इन्दु बर्माले दुई तथा कविता कुँवर र रुविना क्षेत्रीले पनि एक/एक विकेट लिए।
उता हङकङको पारीमा का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेखनीय रन बनाउन सकेनन्।
प्रतियोगिता अन्तर्गत आजै भएको अर्को खेलमा मलेशियाले कुवेतलाई आठ विकेटले पराजित गरेको छ।
आयोजक मलेशिया सहित नेपाल, हङकङ र कुवेत प्रतियोगितामा सहभागी छन्। यही अगस्ट ३१ तारीखदेखि मलेशियामै हुने आईसीसी महिला टी-ट्वेन्टी विश्वकप एशिया क्वालिफायरको तयारीस्वरूप नेपालले प्रतियोगितामा भाग लिएको हो।