काम शुरू भएको १५ वर्षपछि हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइन निर्माणसम्पन्न
स्थानीयको अवरोध, जग्गा प्राप्तिमा समस्या, वन क्षेत्रको जग्गा प्रयोग तथा रूख कटानमा भएको ढिलाइ, ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादन लगायत कारणले आयोजनाको निर्माण प्रभावित भएको विद्युत् प्राधिकरणको दाबी छ।
काम शुरू भएको १५ वर्षपछि हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइन निर्माणसम्पन्न भएको छ। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरे।
प्रधानमन्त्री दाहालले चितवनको भरतपुर महानगरपालिका-११ आँपटारीमा मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत निर्माण गरिएको नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेशन समेत उद्घाटन गरेका छन्।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व ब्यांकको सहुलितपूर्ण ऋणमा हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो। सबस्टेशन भने नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र यूरोपेली लगानी ब्यांक (ईआईबी)को सहुलितपूर्ण ऋणमा बनाइएको हो। प्रसारण लाइनको लागत रु.पाँच अर्ब ९४ करोड र सबस्टेशनको लागत रु.एक अर्ब ५२ करोड छ।
हेटौंडा-भरतपुर खण्ड प्रसारण लाइन निर्माणका लागि २०६५ सालको फागुनमा ठेक्का सम्झौता भएको थियो। तर, ठेकेदारले काम नगरेपछि प्राधिकरणले २०७७ जेठमा नयाँ ठेक्का सम्झौता गरी बाँकी काम गराएको थियो। ७४ किमी लामो भरतपुर-बर्दघाट प्रसारण लाइनका लागि २०६७ कात्तिकमा ठेक्का सम्झौता भएकोमा कार्यसम्पादन सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का रद्द गरी २०७५ साउनमा नयाँ ठेक्का लगाएको थियो।
प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध, जग्गा प्राप्तिमा समस्या, वन क्षेत्रको जग्गा प्रयोग तथा रूख कटानमा भएको ढिलाइ, ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादन लगायत कारणले आयोजनाको निर्माण प्रभावित भएको विद्युत् प्राधिकरणको दाबी छ।
हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करीब १४७ किलोमिटर छ। एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइनलाई हेटौंडा-भरतपुर र भरतपुर-बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण गरिएको थियो।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौंडा सबस्टेशनबाट नयाँ भरतपुर सबस्टेशनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ।
दोस्रो खण्ड अन्तर्गत नयाँ भरतपुर सबस्टेशनबाट शुरू भई नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को बर्दघाट सबस्टेशनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालन ल्याइएको छ।
प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो।
नवलपरासी विनयी त्रिवेणी गाउँपालिका-२ दुम्कीबासमा केही स्थानीयले प्रसारण लाइनको रूट परिवर्तन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि पनि आयोजनाको निर्माण सकिन ढिला भएको थियो। सर्वोच्च अदालतले २०७७ चैत २५ गते स्थानीयको माग बमोजिम अन्तरिम आदेश दिएपछि त्यस क्षेत्रमा पर्ने प्रसारण लाइनको दुई वटा टावर निर्माण रोकिएको थियो।
सर्वोच्चले २०७९ असार १२ गते रिट खारेज गरेको थियो। त्यसपछि स्थानीयसँगको मुआब्जा तथा क्षतिपूर्तिका विषयमा निरन्तर छलफल गरी २०७९ चैतमा सहमति भएपछि निर्माण गरिएको थियो।
मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ भरतपुर र लमजुङको उदीपुरमा सबस्टेशन निर्माणका २०७७ असारमा ठेक्का सम्झौता भएको थियो। कोभिड-१९ को महामारीका कारण सबस्टेशन निर्माण प्रभावित भएको प्राधिकरणले जनाएको छ।
मर्स्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना शुरू गरिएको हो। प्रसारण लाइनबाट करीब एक हजार ६०० मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ।
चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करीब ११३ किलोमिटर छ।