विवाहपछि पढाइ छाडेका महिलाहरू परिवारको साथ पाएपछि अहिले ढुक्कले पढ्न थालेका छन्।
खोटाङको खोटेहाङ गाउँपालिका-६, इन्द्रेणीपोखरीका तीन जना आमा आफ्ना छोराछोरीसँगै विद्यालय जाने गरेका छन्। विवाहपछि पढाइ छाडेका २६ वर्षीया जत्ना राई, २५ वर्षीया मनीषा राई र १९ वर्षीया तारा राई सन्तान हुर्किएपछि भने बालबच्चा डोर्याउँदै विद्यालय गइरहेका देखिन्छन्।
उनीहरू स्थानीय इन्द्रेणीपोखरी माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्छन्। छिमेकी एवं सोही विद्यालयकी शिक्षिका मनिकला राईको प्रोत्साहनमा उनीहरू विद्यालय भर्ना भएका हुन्।
अरू आमालाई पनि शिक्षाप्रति आकर्षित गराउन र गाउँको शिक्षाको सूचकाङ्क सुधार्न यी तीन जनालाई विद्यालय जान प्रोत्साहन गरेको शिक्षिका राई बताउँछिन्। “केही गर्न नसके पनि गाउँको साक्षरता दर अगाडि लैजान योगदान पुग्छ,” शिक्षिका राईले भनिन्, “स्कूल जान जहिल्यै प्रोत्साहन गर्छु। कम्तीमा अरू महिलालाई पनि प्रोत्साहन मिलोस् भन्ने लक्ष्य छ।”
जत्नाकी छोरी जेविना नर्सरीमा पढ्छिन्। मनीषाका छोरा बेनिस कक्षा १ मा र छोरी खुस्बु नर्सरीमा पढ्छन्। ताराको छोरा साइमन नर्सरीमा पढ्छन्।
इन्द्रेणीपोखरी माविमै कक्षा १० मा पढ्दापढ्दै जत्नाको २०७२ सालमा विवाह भएको थियो। संखुवासभा माइती भएकी मनीषा र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका माइती भएकी ताराको कक्षा ८ उत्तीर्ण गरेपछि २०७५ सालमा विवाह भएको थियो।
मनीषा र ताराका श्रीमान् वैदेशिक रोजगारीबाट फर्किएर घर सम्हालिरहेका छन्। परिवारको साथ पाएपछि उनीहरूले ढुक्कले पढ्न पाएका छन्।