ट्रिनिडाड एन्ड टोबेगोमा अलपत्र तीन नेपाली महिलाको उद्धार
दुईतर्फी हवाई टिकट लिएर ट्रिनिडाड पुगेका उनीहरूले त्यहाँ पुगेपछि फिर्ता टिकट भने रद्ध गरेका थिए।
अमेरिकास्थित नेपाली राजदूतावासले क्यारेबियन मुलुक ट्रिनिडाड एन्ड टोबेगोमा अलपत्र परेका तीन नेपाली महिलाको उद्धार गरेको छ। विगत एक महिनाभन्दा बढी समयदेखि अलपत्र सेरसाङ तामाङ, तीर्था लामा वाइबा र याङ्गेन शेर्पालाई त्यहाँको सरकारसँग समन्वय गरी उद्धार गरिएको वाशिङटन डीसीस्थित नेपाली दूतावासले जनाएको छ।
तामाङ हिजै ट्रिनिडाडबाट नेपालका लागि प्रस्थान गरिसकेको र उनी बिहीबार काठमाडौं अवतरण हुने दूतावासले जनाएको छ। यस्तै, वाइबा र शेर्पा भने बिहीबार नेपालतर्फ प्रस्थान गर्ने र शनिबार काठमाडौं अवतरण हुनेछन्।
दुईतर्फी हवाई टिकट लिएर ट्रिनिडाड पुगेका उनीहरूले त्यहाँ पुगेपछि फिर्ता टिकट रद्ध गरेका थिए। त्यसले उनीहरूको अध्यागमनमा कठिनाइ भएको थियो।
ट्रिनिडाड एन्ड टोबेगो सरकार र त्यहाँ रहेका नेपालीले उनीहरूको उद्धारमा सहयोग गरेका थिए। अमेरिकास्थित नेपाली दूतावासले पर्यटक भिसामा क्यारेबियन देशमा यात्रा गर्दा भिसा आवेदनका साथ फारम भर्दा अपनाएको पर्यटक भिसा र अन्य भिसाका लागि आवश्यक प्रक्रिया पूरा गर्न अपिल पनि गरेको छ।