थाइल्यान्डका पूर्व प्रधानमन्त्री सिनावात्रालाई आठ वर्षको जेल सजाय
१५ वर्षको निर्वासित जीवनपछि मंगलबार बिहान थाइल्यान्ड उत्रिएका सिनावात्रा केही घण्टाभित्रै जेल परेका हुन्।
थाइल्यान्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको छ।सिनावात्रामाथि सत्तामा रहँदा शक्तिको दुरुपयोग गरेको, गैरकानूनी रूपमा सरकारी ब्यांकलाई विदेशी ऋण जारी गर्न आदेश दिएको तथा मनोनीत व्यक्ति मार्फत अवैध रूपमा शेयर राखेको कसूरमा दोषी ठहर्याइएको अदालतले जनाएको छ।
थाइल्यान्डको विभाजनकारी नेताको उपमा पाएका सिनावात्रा १५ वर्षको निर्वासित जीवनपछि मंगलबार बिहान मात्रै प्राइभेट जेट मार्फत थाइल्यान्ड उत्रिएका थिए। उनको स्वागतमा समर्थकहरूले ‘स्वागत छ प्रधानमन्त्री’ भन्दै नारा लगाएका थिए। तर, स्वदेश फर्केको केही घण्टामा नै उनी जेल परे।
सिनावात्राको पार्टी फेउ थाईका सदस्य एवं धनाढ्य व्यापारी श्रेथा थाविसिनलाई प्रधानमन्त्री चयन गर्ने तयारी भएका वेला उनी थाइल्यान्ड फर्किएका थिए। ७४ वर्षीय सिनावात्रालाई अदालतले जेल सजाय सुनाए पनि उनी कति दिन बन्दी हुन्छन् भन्नेबारे भने स्पष्ट नभएको अधिकारीहरूले बताएका छन्।
सिनावात्राले टेलिकम्युनिकेशन व्यवसाय मार्फत व्यावसायिक साम्राज्य बनाएका हुन्।