संविधान र राजनीतिक प्रणालीप्रति नै खेलबाड हुन खोजेको आभास हुन थालेको छ : राष्ट्रपति
देशको आर्थिक अवस्थामा शिथिलता देखिएको स्थितिमा सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन समयमा पारित गर्न नसके नेपालमा आउने विदेशी लगानी रोकिन सक्ने र अन्तर्राष्ट्रिय जगत्मा नेपालको साख गिर्न सक्नेतर्फ भएकाले सचेत भई ती कानून बनाउन राष्ट्रपति रामचन्द्र पौडेलले आग्रह गरे।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र राजनीतिक प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको बताएका छन्। आज आफैंले बोलाएको सर्वदलीय बैठकमा उनले शक्ति पृथकीकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावना अनुसार आफूहरू हिंड्न सकिएको छ कि छैन भनेर पनि सोच्नुपर्ने वेला भएको बताएका छन्।
राष्ट्रपति पौडेलले भने, “यो मैले ‘एक्टिभिज्म’ देखाउन खोजेको होइन। म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ। त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो।”
संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि आवश्यक र महत्त्वपूर्ण कानून बन्न नसकेको भनेर चौतर्फी प्रश्न उठिरहेको पनि उल्लेख गर्दै राष्ट्रपतिले भने, “सत्यनिरूपण, बेपत्ता तथा मेलमिलाप सम्बन्धी कानूनी विषय अझै टुङ्गोमा पुग्न सकेको छैन। यति वेला यो विषय टुङ्ग्याउन सकिएन भने जनताले खोजेको शान्तिको चाहना पूरा हुन सक्दैन।”
नेपाललाई ‘प्रि ग्रे लिस्ट’ मा एक वर्षका लागि राख्ने स्थिति अर्को चिन्ताको विषय भएको जनाउँदै उनले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानून यथाशीघ्र पारित गरेर नेपाललाई कालोसूचीबाट जोगाउने पहलकदमी लिनुपर्ने बताए।
यस्तै, देशको आर्थिक अवस्थामा शिथिलता देखिएको स्थितिमा सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन समयमा पारित गर्न नसके नेपालमा आउने विदेशी लगानी रोकिन सक्ने र अन्तर्राष्ट्रिय जगत्मा नेपालको साख गिर्न सक्नेतर्फ भएकाले सचेत भई ती कानून बनाउन उनले आग्रह गरे।
“जनताका यावत् समस्याको समाधान गर्ने सार्वभौम थलो संसद् लामो समयदेखि अवरुद्ध हुँदा जनताका आवाज मुखरित हुने काम बन्द हुन्छ भन्ने सर्वत्र चिन्ता प्रकट भइरहेका वेला सबै दलहरूको आपसी संवाद र प्रयत्नले सहमतिको नजिक पुगेको भन्ने खबरबाट सन्तोष मिलेको छ। यो सहमतिको प्रयत्नले तत्काल सार्थकता पाएर अवरुद्ध संसद् सञ्चालन हुनेछ भन्ने मैले विश्वास लिएको छु,” राष्ट्रपति पौडेलले भने।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता प्रदीप यादव, जनमत पार्टीका अब्दुल खाँ लगायत सहभागी थिए। -रासस