१९२ जनाले पाए राप्ती र नारायणी नदीमा माछा मार्ने अनुमति
निकुञ्जले नदीमा आश्रित भएर बसोबास गर्दै आएकाहरूका लागि वैकल्पिक व्यवसायतर्फ समेत केन्द्रित गराउँदै लगेको छ।
चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीमा माछा मार्नका लागि १९२ जनाले अनुमति पाएका छन्। परम्परागत रूपमा माछा मार्दै आएका उनीहरूको अनुमतिपत्र निकुञ्जले नवीकरण गरेको हो।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अनुमति लिनेको संख्या २०० पुग्ने देखिन्छ। नदीमा आश्रित उनीहरूको हरेक वर्ष अनुमतिपत्र नवीकरण गर्ने गरिन्छ।
तिवारीले भने, “वैशाखदेखि असारसम्म नदीमा माछा मार्न रोक लगाइएको थियो। साउनबाट माछा मार्न खुला गरेसँगै नवीकरण शुरू गरिएको हो।”
निकुञ्जले नदीमा आश्रित भएर बसोबास गर्दै आएकाहरूका लागि वैकल्पिक व्यवसायतर्फ समेत केन्द्रित गराउँदै लगेको छ। निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको सक्रियतामा नदी किनारमा बसोबास गर्दै आएका एवं नदीमा आश्रितलाई अन्य व्यवसायतर्फ समेत केन्द्रित गराउन थालेको तिवारीले बताए।