सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
संघीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलबीच सुन तस्करी प्रकरणमाथि छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा छानबिन समिति बनाउन सहमति भएको हो। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन माग गर्दै आएको थियो। जसका कारण एक महीनादेखि संसद् अवरुद्ध हुँदै आएको छ।
समितिको कार्यादेश तय गर्ने पनि सहमति गरेका छन्। आज कार्यादेशको मस्यौदा तयार पार्ने गरी सहमति जुटेको कांग्रेस नेता रमेश लेखकले बताए।
छानबिन समितिको कार्यादेश तयार गर्नका लागि नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका नेता रमेश लेखक र नेकपा (माओवादी केन्द्र)का नेता हितराज पाण्डे सदस्य रहेको कार्यादेश समिति पनि गठन गरिएको छ।
बैठकमा संसद् सञ्चालन गर्नेबारे सकारात्मक छलफल भएको तथा त्यसका लागि सबै विकल्प र सम्भावना खोजिने गरी दलहरूबीच सहमति भएको कांग्रेस नेता लेखकले बताए। सहमति जुटेसँगै अब संसद् बैठक पनि निर्धारित समयमा सञ्चालन हुने उनको भनाइ छ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादव लगायत सहभागी थिए।