पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध
चितवनको नाम्सी खोला नजिकै पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।
गएराति ८ बजेतिर नाम्सी खोला पुल नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा गएरातिदेखि यात्रु र सवारीसाधन बाटोमै रोकिएका छन्।
पहिरो पन्छाउन चार वटा मशिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनीयर चण्डेश्वर साहले बताए। “हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ। पहिरो पूरै पन्छाउन अझै ५ घण्टा लाग्न सक्छ,” साहले भने।
रातभरकाे प्रयासका बावजूद बिहानसम्म २५ देखि ३० प्रतिशत मात्र पहिरो पन्छाउन सकिएको इलाका प्रहरी कार्यालय, मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले बताए। पहिरो पन्छाउन चार वटा मशिन प्रयोग भए पनि साँघुरो भएका कारण आलोपालो चलेका छन्। रातभर काम निरन्तर भएको तामाङले बताए।
ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय, मुग्लिनका प्रमुख प्रहरी नायब निरीक्षक चूडामणि पोखरेलले यात्रुलाई अनुरोध गरेका छन्।
काठमाडौंबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैंडाकोटमा रोकिएको छ।
नारायणगढ-मुग्लिन सडकखण्ड पहिराका कारण पटक पटक अवरुद्ध हुँदै आएको छ। वर्षा याम शुरू भएसँगै पहिरो खस्न थालेको हो।