संविधानको उल्लंघन भएको छ, फेरि कानूनी बाटो प्रयोग गर्छौं: पूर्व मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिंदा संविधानको उल्लंघन गरेको जनाउँदै पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले अदालत जाने बताएका छन्।
मुख्यमन्त्री थापाले सोमबार कोशी प्रदेशबाट विश्वासको मत लिएका छन्। विश्वासको मत लिंदा सभाध्यक्ष इस्त्राइल मन्सुरीले पनि मत दिएका थिए। सभाध्यक्षको मत जोडेर ४७ पुगेको थियो।
संवैधानिक व्यवस्था अनुसार सभाध्यक्षले मत बराबर भएको अवस्थामा मात्रै निर्णायक मत दिन पाउँछन्। कोशी प्रदेश सभामा विश्वासको मत दिलाउन सभाध्यक्षलाई पनि मतदान गर्न लगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध जनाएको छ। प्रदेश सभा बैठकमा पनि एमाले सांसदले विरोध जनाएका थिए।
प्रदेश सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै एमाले संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री कार्कीले विश्वासको मत लिंदा संविधानको उल्लंघन भएको बताए। “संविधान र कानूनको उल्लंघन भएको छ, यसमा हाम्रो आपत्ति छ,” कार्कीले भने, “हामी संविधान र कानूनको बाटो प्रयोग गर्छौं।”
पूर्व मुख्यमन्त्री कार्कीले गठबन्धनको नाममा निर्लज्जता प्रकट गरिएको टिप्पणी गरे। “केन्द्रीय गठबन्धनको नाममा प्रदेश गठबन्धनले जुन काम गरेको छ, यो निर्लज्जताको पराकाष्ठा हो,” कार्कीले भने।
यसअघि पनि कार्कीले सर्वोच्च अदालतका पुगेका थिए। सर्वोच्चले उनैको पक्षमा फैसला गरेको थियो।
त्यति वेला मुख्यमन्त्री नियुक्त हुन तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरिएको थियो। त्यसलाई सर्वोच्चले असंवैधानिक ठहर गरेको थियो।