विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गरेका छन्। नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।
यसअघि सोमबार नै संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो।
डोटीको सिलगढीमा जन्मिएका श्रेष्ठले सुदूरपश्चिम क्षेत्रीय अदालतमा शाखा अधिकृतका रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए। उनी सात वर्षअघि सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए।