शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाउने दुवै एसएसपीको सरुवा
गृह मन्त्रालयले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाउने दुवै प्रहरी अधिकृतलाई सरुवा गरेको छ।
गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी र काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीको सरुवा गरेको हो। केसीलाई प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा र कार्कीलाई महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ।
प्रहरी प्रधान कार्यालयले उनीहरूको सरुवाका लागि गृह मन्त्रालयमा सिफारिश गरेको थियो। त्यसलाई सोमबार गृह मन्त्रालयले स्वीकृत गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी सोमेन्द्रसिंह राठौर र काठमाडौं प्रहरी परिसरमा एसएसपी भूपेन्द्र खत्री आएका छन्।
एसएसपीद्वय कार्की र केसीले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। केसी नेतृत्वमा आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढाएको थियो।
त्यसपछि अनुसन्धानकाे जिम्मा काठमाडौं प्रहरी परिसरलाई दिएको थियो। यो प्रकरणलाई अदालतसम्म लग्ने काम परिसरले गरेको थियो।
नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायत ३० जना विरुद्ध मुद्दा दर्ता गरिएको छ। खाण, रायमाझी र पाण्डे सहित १६ जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।