विद्यार्थीलाई पढाइसँगै सीप
शिक्षाको जिम्मेवारी पाएसँगै केही स्थानीय सरकारले पढाइसँगै स्कूलका विद्यार्थीलाई सीप सिकाउन थालेका छन्।
नवलपरासीको हुप्सेकोट गाउँपालिकाले आफ्नो क्षेत्रमा भएका सबै स्कूलका विद्यार्थीलाई व्यावसायिक सीप सिकाउने कार्यक्रम अघि सारेको छ। कक्षा १२ उत्तीर्ण गर्दा विद्यार्थीले केही न केही व्यावसायिक सीप बोकेर निस्किऊन् भन्ने नीतिका साथ नयाँ कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ।
हुप्सेकोट–३, बेलाहानीस्थित नेपाल शान्ति माविमा कक्षा ९ र ११ मा अध्ययनरत सबै विद्यार्थीलाई प्लम्बिङ तालीम दिइएको छ। “कक्षा ९ का ४० र कक्षा ११ का ३० विद्यार्थीलाई प्लम्बिङ तालीममा सहभागी गरायौं,” प्रधानाध्यापक सूर्य भण्डारी भन्छन्, “शुरूमा त छात्राहरूको अरुचि थियो तर पछि उत्साहित भए।”
यो तालीम लिएपछि घरमा सामान्य केही मर्मतसम्भार गर्नुपर्दा पनि कसैको मुख ताक्नुनपर्ने प्रधानाध्यापक भण्डारीको भनाइ छ। यसले पछिका दिनमा व्यावसायिक भरथेग पनि गर्न सजिलो हुने उनी बताउँछन्। “तालीम लिन पाउँदा सबै विद्यार्थी खुशी छन्,” भण्डारी भन्छन्, “यसले विद्यार्थीलाई पढाइमा पनि गम्भीर बनाएको छ।”
त्यस्तै, हुप्सेकोट–४, झ्यालबासस्थित ज्वाला माविले कक्षा ८ र ९ का २० विद्यार्थीलाई मोबाइल मर्मत तालीम दिएको छ। “पहिलो पटक आयोजना गरिएको तालीम सोचे अनुसार गर्न सकियो/सकिएन भन्ने होला तर निरन्तर गर्दै जाँदा राम्रै हुने जस्तो बुझिन्छ,” स्कूलकी लेखा प्रमुख माया खरेल भन्छिन्, “हामीले पहिलो पटक आयोजना गरेकाले मौसमको ख्याल गरेनौं। यस्तो कक्षा बर्खा र गर्मी छलेर गर्नुपर्ने रहेछ।”
हुप्सेकोट–१, जुकेपानीस्थित सूर्यज्योति माविका प्रधानाध्यापक निमु गिरी आर्थिक रूपले विपन्न समुदायका विद्यार्थीलाई यस्तो कार्यक्रमले ठूलो भरथेग हुने देखिएको बताउँछन्। सूर्यज्योतिमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई सिलाइकटाइ तालीम दिइएको छ।
“हाम्रो स्कूल क्षेत्रमा दलित बस्ती छ। विद्यार्थीहरू आर्थिक रूपले कमजोर छन्,” प्रधानाध्यापक गिरी भन्छन्, “यस्ता व्यावसायिक सीपले वैकल्पिक आयआर्जनमा सहयोग पुग्छ।” यस पटक कक्षा ९ का सबै ४३ विद्यार्थीलाई सिलाइकटाइ तालीम दिएको उनी बताउँछन्।
हुप्सेकोटका १२ वटा विद्यालयमा गत वर्षदेखि कक्षा ९ र ११ मा अध्ययनरत विद्यार्थीलाई १८० घण्टे सीप तालीम अनिवार्य गरिएको शिक्षा शाखा प्रमुख माधवराज गौतम बताउँछन्। यस कार्यक्रम अन्तर्गत विद्यार्थीले मोबाइल मर्मत, प्लम्बर, इलेक्ट्रिसियन, ब्यूटिसियन, कपाल काट्ने, सिलाइकटाइ तालीम लिइरहेका छन्।
विद्यार्थी र विद्यालयको अनुकूलतामा स्थानीय सरकारले स्कूलमा कतै नियमित कक्षाभन्दा अघि त कतै नियमित कक्षाभन्दा पछि तालीम दिने गरेका छन्। “हुप्सेकोटका कक्षा १२ पास गरेका छात्रछात्रामा कुनै न कुनै सीप होस् जुन सीप उनीहरूलाई आत्मनिर्भरताको बाटो बनोस् वा सशक्तीकरणको माध्यम बनोस् भनेर शुरू गरेका हौं,” गौतम भन्छन्।
छात्रको रुचि इलेक्ट्रिसियन र प्लम्बिङमा देखिएको छ भने छात्राको रुचि सिलाइकटाइ तालीममा छ। हुप्सेकोटकै एउटा स्कूलमा दिइएको मोबाइल मर्मत तालीममा पनि विद्यार्थीको आकर्षण देखिएको छ।
विद्यालयले दिइरहेको यो तालीम प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) को तह दुई बराबरको हो। तालीम सकिएपछि गाउँपालिकाले विद्यार्थीलाई सीटीईभीटीकै प्रमाणपत्र पनि उपलब्ध गराउनेछ।
तालीम दिने व्यक्ति पनि सीटीईभीटीको प्रमाणपत्र हासिल गरेको हुनुपर्ने मापदण्ड तय गरिएको छ। “हुप्सेकोटको शिक्षा ऐनमै विद्यार्थीलाई प्राविधिक सीप सिकाउने बुँदा समेटिएको छ र यो आर्थिक वर्षमा गाउँपालिकाका निजी स्कूलमा पनि यो कार्यक्रम चलाउने तयारी भइरहेको छ,” गौतम भन्छन्।
प्राविधिक तालीमकै लागि पालिकाले १२ वटा विद्यालयलाई ६२ हजार ५०० का दरले सात लाख ५० हजार बजेट विनियोजन गरेको छ। अहिले सबै विद्यालयका गरी ४५० विद्यार्थीले तालीम लिइरहेका छन्। यहाँका सरकारी स्कूलमा सात हजार ७०० विद्यार्थी अध्ययनरत छन्।
गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे किशोरावस्थामा पढाइसँगै व्यावसायिक सीप सिकाउने उद्देश्यले यो कार्यक्रम ल्याएको बताउँछिन्। “परम्परागत ज्ञान, सीप हराउँदै गएको कुरा गर्छौं तर नयाँ पुस्ताले नयाँ ढङ्गले सीप कसरी सिक्न सक्लान् भन्नेतर्फ सोचेका छैनौं,” अध्यक्ष पाण्डे भन्छिन्, “नयाँ ढङ्गमा जानुपर्दा सीटीईभीटीको तालीम दिनु उपयुक्त हुने देखेर यो कार्यक्रम अघि बढाएका हौं।”
व्यावसायिक तालीमका लागि स्कूललाई दिइएको रकम अपुग भएको महसूस आफूले पनि गरेको अध्यक्ष पाण्डेको भनाइ छ। उनी आगामी दिनमा बजेट बढाउने र कार्यक्रमलाई पनि परिमार्जन गर्दै लाने सोच रहेको बताउँछिन्।
हुप्सेकोट शिक्षा क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने पालिकामा पर्छ। पालिकाले शिक्षामा सशर्त ४२.८ प्रतिशत बजेट छुट्याएको छ भने शर्त बाहेक २१.०९ प्रतिशत बजेट विनियोजन गरेको छ।
पालिकाको कुल बजेट रु.५१ करोड छ भने शिक्षामा मात्रै रु.२७ करोड विनियोजन गरेको छ। तलबभत्ता लगायत नियमित खर्च झन्डै रु.चार करोड २६ लाख छ भने भौतिक निर्माणतर्फ रु.एक करोड ५९ लाख छ। यो शिक्षामा देशकै सबैभन्दा धेरै प्रतिशत बजेट विनियोजन गर्ने पालिका हो।
“जुन उद्देश्यले यो तालीम शुरू गरेका हौं, त्यसको प्रतिफल आउन तीन–चार वर्ष लाग्न सक्छ,” पाण्डेले भनिन्, “यहाँको वस्तुस्थिति र आवश्यकता हेर्दै तालीमलाई परिमार्जन गर्दै लाने सोच छ।” अहिले सीटीईभीटीको खाका अनुसार नै तालीम दिएको र भोलि स्थानीय आवश्यकता मध्यनजर गरी अघि बढ्ने उनले बताइन्।