कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।
सोमबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री थापाले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभाध्यक्ष इस्माइल मन्सुरीले घोषणा गरे। विश्वासको मतको प्रस्तावका पक्षमा ४७ मत परेको छ। ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन ४७ सांसदको समर्थन आवश्यक पर्छ।
नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी (जसपा)का एक सांसदले पक्षमा मत दिएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा सभाध्यक्ष मन्सुरले पनि मतदान गरेका थिए।
त्यस्तै, विपक्षमा ३० मत परेको छ। नेकपा (एमाले)का सांसदले विपक्षमा मतदान गरेका हुन्।
बैठकमा ७७ जना उपस्थित थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भने बैठकमा उपस्थित भएनन्। राप्रपाका ६ सांसद छन्।
कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले केही दिनअघि राजीनामा दिएका थिए। उपसभामुख सिर्जना दनुवारले आफू बिरामी भएकाले बैठकमा उपस्थित हुन नसक्ने जनाउँदै अध्यक्ष मण्डलका सदस्य अन्सारीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएकी थिइन्। एमालेबाट निर्वाचित उपसभामुख दनुवार काठमाडौं गएकी छन्।
प्रदेश सभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि अध्यक्ष मण्डलमा चार जना सदस्य तोकिएका छन्।। जसमा ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बू पनि बैठकमा उपस्थित भइनन्। उनले भदौ १ गते नै आजको बैठकमा अनुपस्थित हुने सूचना दिएकी थिइन्।
त्यस्तै, वर्णानुक्रम अनुसार पहिलो नम्बरमा रहेका अम्बरबहादुर विष्ट पनि उपस्थित भएनन्। उनले पनि भदौ १ गते नै सोही बेहोराको सूचना दिएका थिए। त्यसपछि उपसभामुख दनुवारले सांसद मन्सुरीलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी दिएकी हुन्।
सभाध्यक्ष हुँदा मतदान गर्न नपाउने भएकाले विश्वासको मतको पक्षमा ४७ सांसद पुग्न नदिन विपक्षी दलले यस्तो रणनीति अपनाएका थिए। तर, सभाको अध्यक्षता गरेका सांसद मन्सुरले मतदान गरेर विश्वासको मतको पक्षमा बहुमत पुर्याएका छन्।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा साउन १६ मा थापा मुख्यमन्त्री नियुक्त भएका थिए। यस उपधारा अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
सभाध्यक्ष मन्सुरले मतदान गरेपछि एमाले सांसदले भने विरोध जनाएका छन्। उनीहरूले प्रदेश सभा बैठकमा नाराबाजी गरेका थिए। सभाध्यक्ष मन्सुरले नाराबाजीबीच प्रस्ताव पारित भएको घोषणा गरेका थिए।