समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने
चारदलीय समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने भएको छ।
आज बिहान नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले बताए।
बैठकले भदौ ८ गते मधेश प्रदेशको वीरगन्जमा, भदौ १२ गते लुम्बिनी प्रदेशको बुटवलमा, भदौ १३ गते सुदूपश्चिम प्रदेशको धनगढीमा, भदौ १४ गते कर्णाली प्रदेशको सुर्खेतमा, भदौ १५ गते गण्डकी प्रदेशको पोखरामा, भदौ २३ गते बागमती प्रदेशको हेटौंडामा र भदौ २५ गते कोशी प्रदेशको विराटनगरमा सभा गर्ने निर्णय गरेको छ।
सभाबाट प्रदेश मोर्चाको गठन गर्ने निर्णय भएको उपाध्यक्ष हमालले बताए। यसैगरी, बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रम लगायतका सरकारले थालेको भ्रष्टाचार विरुद्धको अभियानलाई समर्थन गर्ने लगायत विषयमा छलफल भएको जनाइएको छ।
मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा आबद्ध छन्।