आज विश्वासको मत नलिने रणनीतिमा सत्तापक्ष, पुनः मुख्यमन्त्री हात पार्ने दाउमा एमाले
“धारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुखले सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने हुन्छ,” अधिकारीले भने, “यस्तो अवस्थामा मुख्यमन्त्रीमा दाबी नगरी प्रदेश प्रमुखले बोलाएरै नियुक्त गर्नुपर्ने हुन्छ।”
कोशी प्रदेश सभामा आज मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिंदै छन्। तर, उनलाई सहज भने छैन।
थापालाई विश्वासको मत लिनबाट रोक्न प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना ज्येष्ठ सदस्यहरूलाई बैठकमा अनुपस्थित हुने गरी बिदा बस्न लगाएका छन्।
अहिले सत्ता गठबन्धन वा प्रतिपक्ष, जोबाट बैठकको अध्यक्षता हुन्छ त्यसको विपक्षमा मत पुग्ने अवस्था छ। त्यसैले दुवै पक्ष बैठकको अध्यक्षता गर्नबाट जोगिने प्रयासमा छ।
यता, प्रदेशमा सभामुख नरहेको अवस्थामा एमालेबाट निर्वाचित उपसभामुख सिर्जना दनुवार पनि बिरामी बिदा लिएर बैठकमा अनुपस्थित हुने भएकी छन्। दनुवारले प्रदेश सभा नियमावलीको नियम ११ बमोजिम सभा सञ्चालन गर्न अनुरोध गरेकी छन्। नियम ११ मा अध्यक्ष मण्डलको व्यवस्था छ। सभामुख र उपसभामुख अनुपस्थित भएको खण्डमा अध्यक्ष मण्डलका सदस्यले बैठक चलाउने व्यवस्था छ।
अध्यक्ष मण्डलमा सत्ता पक्षका दुई र विपक्षका दुई सदस्य छन्।
अध्यक्षता गर्नबाट भाग्दै ज्येष्ठ सदस्य
उपसभामुख बिदा बस्दा नेपाली कांग्रेसका अध्यक्ष मण्डलका सदस्य इस्माइल मन्सुरीले बैठकको अध्यक्षता गर्नुपर्ने हुन्छ। राप्रपाका अम्बरबहादुर विष्ट र एमालेकी मालती सुब्बा अध्यक्षता गर्नबाट जोगिन हिजोदेखि नै बिदा बसिसकेका छन्। अध्यक्ष मण्डलमा माओवादीकी गीता तिम्सिना पनि छिन्।
यीसँगै एमालेका ६ र राप्रपाका दुई प्रदेश सभाका ज्येष्ठ सदस्यले आइतबार नै प्रदेश सभा बैठकमा अनुपस्थित हुने लिखित जानकारी गराइसकेका छन्। प्रदेश सभामा ज्येष्ठताको पहिलो नम्बरमा रहेका नेपाली कांग्रेसका गयानन्द मण्डललाई अध्यक्षता गर्नबाट रोक्न मुख्यमन्त्री थापाले केही दिनअघि राज्यमन्त्री बनाइसकेका छन्।
सत्तापक्षले ज्येष्ठ सदस्यलाई अध्यक्षता गर्नबाट जोगाएपछि विपक्षी दलले पनि अन्य ज्येष्ठ सदस्यहरूलाई बैठकमा अनुपस्थित गराएको हो। उनीहरूले घरायसी काम देखाएर बिदा लिएका हुन्।
एमालेका तर्फबाट दोस्रो नम्बरमा रहेका रोहितबहादुर कार्की, चौथो नम्बरकी मालतीकुमार लिम्बू, पाँचौं नम्बरका रामप्रसाद महतो, छैटौं नम्बरकी तारादेवी ढकाल, सातौं नम्बरका खड्गबहादुर बस्नेत र १२औं नम्बरका ज्ञानेन्द्र सुवेदीले बैठकमा उपस्थित नहुने लिखित जानकारी गराएका छन्। आठौं नम्बरमा रहेका एमालेका किशोरचन्द्र दुलाल भने हाल विदेशमा छन्।
राप्रपाका तर्फबाट तेस्रो नम्बरमा रहेका अम्बरबहादुर विष्ट र नवौं नम्बरका गोपालबहादुर विश्वकर्माले पनि बिदा लिइसकेका छन्।
अध्यक्ष मण्डलमा रहेका सत्तापक्षका दुई सदस्य पनि बैठकको अध्यक्षता गर्नबाट तर्किएको अवस्थामा भने १३औं नम्बरमा रहेका नेपाली कांग्रेसका अमृतकुमार अर्यालको अध्यक्षतामा बैठक सञ्चालन गर्नुपर्ने अवस्था आउँछ।
मुख्यमन्त्री थापाले विश्वासको मत पाउन सत्ता गठबन्धनका सबै ४७ जना बैठकमा सहभागी हुनुपर्ने बाध्यता छ।
ज्येष्ठताको १०औं नम्बरमा मुख्यमन्त्री थापा, ११औं नम्बरमा नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगू छन्। जबेगू पनि थापा नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री छन्।
सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्याएका मुख्यमन्त्री थापा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका थिए।
पैसाको चलखेल
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले केही दिनअघि सत्तारूढ दलबाट विश्वासको मतका लागि १० करोड रुपैयाँ र मन्त्री बनाइदिने प्रस्ताव आएको बताएका थिए। तर, उक्त प्रस्ताव कुन सांसदलाई आएको भन्नेबारे उनले स्पष्ट बताएका छैनन्।
फेसबूक मार्फत उनले भदौ २ गते सत्तारूढ दललाई यस्तो आरोप लगाएका थिए। यता विश्वासको मत लिने समय नजिकिंदै जाँदा राप्रपा प्रदेश सभा सदस्य भक्ति सिटौला आफ्नो मोबाइल बन्द गरेर बसेका छन् भने यस आरोपबारे सत्तारूढ दलले कतै खण्डन गरेको पाइएको छैन।
एमालेको सरकार बन्ने सम्भावना
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। तर, थापाले आज विश्वासको मत प्राप्त नगरे एमालेको नेतृत्वमा प्रदेश सरकार बन्ने अवस्था हुन्छ।
मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान भएको छ।
९३ सदस्यीय कोशी प्रदेश सभामा सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसको २९, नेकपा (माओवादी केन्द्र)को १३, नेकपा (एकीकृत समाजवादी)को चार र जनता समाजवादीको एक गरी ४७ सीट छ।
एमालेसँग उपसभामुख बाहेक ३९ र राप्रपासँग ६ सांसद छन्। सोमबार एमालेका सात र राप्रपाका ६ जना गरी कम्तीमा १३ जना सांसद अनुपस्थित हुने अवस्था छ। संविधानको धारा १८६ मा ‘प्रदेश सभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट हुने र अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन’ भनी लेखिएको छ।
तर, मत बराबर भएको खण्डमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन पाउने उल्लेख छ। बैठकमा प्रतिपक्षका ज्येष्ठ सदस्यहरू अनुपस्थित रहने भएकाले अध्यक्षता नेपाली कांग्रेसकै सदस्यले गर्नुपर्ने अवस्था आएको छ। त्यसो हुँदा विश्वासको मत सम्बन्धी निर्णयार्थ प्रस्तुत गरिएको प्रस्तावमा मत बराबर हुने अवस्था आउँदैन, ४६ मत मात्रै प्राप्त हुन्छ।
बहुमतका लागि एक मत कम हुने अवस्थामा विपक्षीसँग उपसभामुख बाहेक ४५ मत रहन्छ। मत बराबर नहुने भएकाले अध्यक्षता गर्ने व्यक्तिले निर्णयक मत दिन पाउनेछैन। जसका कारण मुख्यमन्त्री थापाले विश्वासको मत गुमाउँदै स्वतः पदमुक्त हुनुपर्ने अवस्था बन्छ।
विश्वासको मत गुम्ने बित्तिकै धारा १८६ को ३ बमोजिम एमालेका हिक्मत कार्की नै मुख्यमन्त्री हुने प्रदेश सभा सदस्य एवं कानून व्यवसायी लीलावल्लभ अधिकारीको भनाइ छ। “धारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुखले सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने हुन्छ,” अधिकारीले भने, “यस्तो अवस्थामा मुख्यमन्त्रीमा दाबी नगरी प्रदेश प्रमुखले बोलाएरै नियुक्त गर्नुपर्ने हुन्छ।”
विश्वासको मत आज नलिने सम्भावना
उपसभामुख दनुवारले प्रदेश सभा सञ्चालन नगर्ने सम्भावनासँगै सत्तारूढ दल यति वेला विश्वासको मत लिने समय सार्ने मनस्थितिमा छ।
नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की भन्छन्, “उपसभामुख काठमाडौं लाग्नुभयो भन्ने जानकारी छ। ज्येष्ठ सदस्यहरू बिरामी पर्नुभयो भन्ने जानकारी आयो। हामी आज विश्वासको मत लिंदैनौं।”
सत्तारूढ दलसँग भदौ १३ गतेसम्म विश्वासको मत लिने समय छ। “आज ज्येष्ठ सदस्यले नियमित रूपमा सभा सञ्चालन गरेर बजेटमाथि छलफल गर्ने तयारी भइरहेको छ,” कार्कीले भने।
यसबीच आज बिहानका लागि तय भएको कोशी प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि मध्याह्न १२ बजेका लागि सारिएको छ।