आन्तरिक मूल्याङ्कनमा अनुत्तीर्ण जनमत पार्टीका चार सांसदलाई सचेत गराइने
अनुत्तीर्ण सांसदको कार्यशैलीको विषयमा भएका कमीकमजोरीबारे छलफल गरिने जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले बताए।
जनमत पार्टीका चार जना प्रदेश सभा सदस्य पार्टीको आन्तरिक मूल्याङ्कनमा अनुत्तीर्ण देखिएका छन्। आफ्ना १६ प्रदेश सांसदको कार्यसम्पादन मूल्याङ्कनका लागि जनमत पार्टीले भदौ २ गते मतदान गराएको थियो। जसमध्ये चार जना अनुत्तीर्ण भएका हुन्।
अनुत्तीर्ण हुनेमा सिरहाका त्रिभुवन साह र भाग्यश्रीकुमारी चौधरी तथा महोत्तरीका चन्दनकुमार सिंह र अनिताकुमारी साह छन्। साहको पक्षमा २० र विपक्षमा ७८ मत खसेको थियो। चौधरीको पक्षमा २१ र विपक्षमा ७९ मत खसेको थियो।
त्यस्तै, सिंहको पक्षमा १४ र विपक्षमा २८ मत खसेको थियो भने साहको पक्षमा १४ र विपक्षमा २३ मत खसेको थियो।
मतदानमा प्रदेश सभा सदस्यका सम्बन्धित क्षेत्रका पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा यी पदका प्रत्याशीहरू सहभागी थिए। जिल्ला परिषद् सदस्य र सोही क्षेत्रका पार्टीका केन्द्रीय सदस्य समेत मतदानमा सहभागी थिए।
जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले अनुत्तीर्ण सांसद पदमा गएको धेरै समय नभएकाले फिर्ता नबोलाउने बताए। उनीहरूको कार्यशैलीका विषयमा भएका कमीकमजोरीबारे छलफल गरेर सचेत गराउने यादवले बताए।
यो अभ्यासले पार्टीको मूल्याङ्कन पद्धतिलाई बलियो बनाएको उनले बताए। अनुत्तीर्ण सांसद चन्दन सिंह भने प्रदेश सरकारमा श्रम तथा यातायात मन्त्री छन्।
संविधानमा सांसदहरूलाई फिर्ता बोलाउने प्रावधान नराखिएको कारण पनि समस्या देखिएको तर आफ्नो पार्टीको घोषणापत्रमा भने यो विषयलाई सम्बोधन गरिएको उनले बताए।