गोर्खालीले युद्ध लडेको जङ्गलमा फुल्ने दुर्लभ फूल
गोर्खालीले माओवादी गुरिल्ला विरुद्ध युद्ध लडेको मलेशियाको जंगलमा अहिले विश्वकै दुर्लभमध्येको एक तथा लोपोन्मुख फूल ‘रफ्लिजा’ फुलिरहेछ। रफ्लिजा फुल्न नौ महीना लाग्छ। तर, परागसेचन भएको एक हप्तापछि नै मर्छ।
‘रोयल बेलम स्टेट पार्क’ मलेशिया प्रायद्वीपको अहिलेसम्म बचेको र विश्वकै सबैभन्दा पुरानो उष्णप्रदेशीय घना जङ्गल हो। १३ करोड वर्षदेखि अस्तित्वमा रहेको यस जङ्गलमा एशियाली हात्ती र मलेयन बाघ लगायत ठूला स्तनधारी जीव अत्यधिक पाइन्छन्। यो जङ्गलमा लोपोन्मुख ‘हेल्मेटेड हर्नबिल’ (धनेसको प्रजाति) सहित मलेशियाली धनेसका १० वटा प्रजाति पनि छन्।
मलायामा बेलायती औपनिवेशिक शासन हुँदा यही जङ्गलमा सैन्य संघर्ष पनि भएको थियो। चिन पेङ नेतृत्वको मलाया कम्युनिस्ट पार्टी (सीपीएम)ले बेलायती शासन अन्त्य गर्न यहींबाट गुरिल्ला युद्ध शुरू गरेको थियो। सन् १९४८ देखि १९६० सम्म भएको युद्धमा माओवादी गुरिल्ला विरुद्ध ब्रिटिश आर्मीका तर्फबाट नेपालीले लडेका थिए।
युद्धमा बेलायती सेनाले अघिल्लो पंक्तिमा गोर्खा कमान्डोलाई पठाएको थियो। पूर्व ब्रिटिश गोर्खा टीम ई. गुरुङ आफ्नो पुस्तक द गुर्खाज: अ ट्रू स्टोरीमा लेख्छन्- ‘सन् १९५० दशकको शुरूतिर दक्षिणपूर्वी एशिया (मलाया, सिंगापुर, सारावक, सबाह र ब्रुनाई)मा बेलायतको रक्षा गर्न गोर्खाले लड्नुपरेको पहिलो युद्ध थियो, मलायाली सङ्कट। यो लामो, घिनलाग्दो र खर्चिलो गुरिल्ला युद्ध थियो जुन सन् १९४८ देखि १९६० सम्म चल्यो।’
गोर्खालीले दोस्रो विश्वयुद्ध ताका पनि जापानी विरुद्ध यही जङ्गलमा लडेका थिए।
आगजनी र ‘एजेन्ट अरेन्ज’ जस्तो वनस्पतिनाशक रसायन छरेर बेलायतले विद्रोह दबाए पनि सन् १९८९ सम्म यो जङ्गलमा गुरिल्ला र कडा सुरक्षा व्यवस्था रहिरह्यो। अहिले पनि यो जङ्गल पार गरेर जाने पूर्व-पश्चिम राजमार्गमा हिंड्ने यात्रुलाई सुरक्षा चौकीहरूमा रोकेर जाँच गरिन्छ।
यो जङ्गलमा ‘रोयल बेलम स्टेट पार्क’ भने सन् २००७ मा स्थापना गरिएको थियो। मलेशिया-थाइल्यान्ड सीमा नजिकै तीन लाख हेक्टर क्षेत्रफलमा फैलिएको यो पार्क अहिले अनुसन्धान एवं पर्या-पर्यटनको केन्द्र बनेको छ।
यो पार्क संसारकै सबैभन्दा ठूलो, विश्वकै दुर्लभमध्येको एक एवं लोपोन्मुख फूल ‘रफ्लिजा’ को घर पनि हो। फक्रिरहेको ‘रफ्लिजा अज्लानी’ को तस्वीर मलेशियाको १० रिंगिटको नोटमा पनि राखिएको छ। यो फूल पत्ता लगाउने अंग्रेज ‘स्ट्यामफोर्ड र्याफेल्स’ को नामबाट यसको नामकरण गरिएको हो।
१.२ मिटरको व्यास हुने र कुहिएको मासु जस्तो गन्ध आउने रफ्लिजा फुल्न नौ महीना लाग्छ। तर, परागसेचन भएको एक हप्तापछि नै मर्छ। त्यसैले यो फूल फक्रेको देख्न दुर्लभ छ। बीबीसीअर्थ मा यो फूलबारे सामग्री प्रसारण गरेका डेभिड एट्टेनबोरोघले यसको गन्धकै कारण यसलाई ‘शव पुष्प’ नाम दिएका थिए।
गोर्खा यो जङ्गलमा ठूलो मात्रामा परिचालन गरिएकाले के उनीहरूले पनि त्यो विशाल फूल देखे त भन्ने प्रश्न उठिहाल्छ। त्यसमाथि पनि यस्तो फूल जसको गन्धले नै दुश्मनलाई लखेट्छ।
मलायाको युद्धमा सहभागी भएका गोर्खाली वीर एवं परम्परागत घाटु गीतका सङ्गीतकार ९६ वर्षे गौलाल गुरुङले आफ्नो युवाकालको लामो अवधि यो जङ्गलमा बिताएका थिए। विद्रोहीको खोजीमा उनले यो जङ्गलका कुनाकाप्चा महीनौंसम्म चहारेका थिए। “हामीले गुरिल्ला त प्रशस्तै भेट्टायौं। तर, कहिल्यै रफ्लिजा फूल देखेनौं,” गुरुङ भन्छन्।
एक वा दुई दिनका लागि फक्रिने भएकाले यो फूल फुलेको देख्न दुर्लभ नै छ। सही समयमा सही ठाउँमा हुन त निकै भाग्यमानी हुनुपर्छ।
एक लाख ८५ हजार प्रजातिका पशुपक्षी र १२ हजार पाँच प्रजातिका फूल फुल्ने मलेशिया संसारका १२ वटा अति धेरै विविधतायुक्त देशमध्ये एक हो। आठ वर्षअघि स्थापित मलेशियन नेचर सोसाइटीले अहिले त्यही जैविक विविधता संरक्षण र वातावरणीय शिक्षामा काम गरिरहेको छ। मलेशियन सरकार र स्थानीय आदिवासी समुदाय ‘ओराङ्ग अस्ली’ सँग मिलेर यी काम भइरहेका छन्।
बर्ड लाइभ इन्टरन्याशनलले सन् २००४ मा रोयल बेलम स्टेट पार्कलाई ‘महत्त्वपूर्ण पक्षी र जैविक विविधता क्षेत्र’ का रूपमा स्वीकार गरेको छ। दक्षिण-पूर्वी एशियामा ‘सीएटीएस’ (कन्जर्भेसन एसर्ड टाइडर स्ट्यान्डर्स) प्राप्त गर्ने यो पहिलो पार्क हो। सन् २०१९ मा यो युनेस्कोको विश्व सम्पदा स्थलको सूचीमा सूचीकृत पनि भएको थियो।
यी सबै प्रयासका बावजूद खर्बौं डलर लगानी भएका उद्योगले पाम खेतीका लागि मलेशियाका घना जङ्गल फँडानी गरिरहेका छन्। पाम तेल उत्पादन र निर्यात गर्ने संसारकै ठूलो देशमध्ये एक हो मलेशिया। त्यसैले पर्यावरण र हरित अर्थतन्त्र दुवै जोगाउन सशक्त नीतिको आवश्यकता छ।
(गुरुङको यो लेख नेपाली टाइम्सबाट अनुवाद गरिएको हो।)