उपप्रमुखलाई नै कार्यवाहक दिन गाउँपालिका महासंघ र नगरपालिका संघको आह्वान
कार्यवाहक जिम्मेवारी दिने विषयमा देखिएको विवादलाई लिएर गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले देशभरका स्थानीय तहका प्रमुखलाई सचेत गराएका छन्।
झापाका दुई स्थानीय तह शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा उपमेयर तथा उपाध्यक्षलाई कार्यवाहक नदिई ऐन विपरीत वडाध्यक्षलाई निमित्त कार्यवाहक दिएको थियो। यस विषयमा ध्यानाकर्षण भएको गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले जनाएका छन्।
गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नगरपालिका संघ अध्यक्ष भीमप्रसाद ढुंगानाले संयुक्त विज्ञप्ति जारी गरी देशभरका मेयर तथा अध्यक्षको ध्यानाकर्षण गराएका छन्। “गाउँपालिका र नगरपालिका अध्यक्ष/प्रमुखहरू कार्यक्षेत्रबाट सात दिनभन्दा बढी बाहिर जाँदा कार्यवाहकको जिम्मेवारी कानूनत: स्वतः उपाध्यक्ष/उपप्रमुखलाई दिनुपर्नेमा पछिल्लो समयमा केही गाउँपालिका तथा नगरपालिकाका अध्यक्ष/प्रमुखहरूले उपाध्यक्ष/उपप्रमुखलाई जिम्मेवारी नदिई कार्यपालिकाका सदस्यहरूलाई दिएको समाचार आइरहेकोमा हामी संघ/महासंघको ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ।
यस प्रकारको विषयलाई विवादमा ल्याएर आलोचित नहुन समेत सबै पालिकालाई सचेत गराइएको छ।
शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ थोप्रा ‘रोशन’ र कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले ऐनको बेवास्ता गर्दै वडाध्यक्षलाई कार्यवाहक दिएका हुन्। यद्यपि शिवसताक्षीका मेयर थोप्राको कार्य विवादित बनेपछि कार्यवाहकको समयसीमा घटाएर भदौ २ गतेसम्म बनाएका थिए।
मेयर थोप्राले वडा नं. ४ का अध्यक्ष विष्णु प्रसाईंलाई भदौ ५ गतेसम्मका लागि एक साता कार्यवाहक जिम्मेवारी दिएका थिए। तर, उपमेयरलाई लिखित रूपमा कार्यवाहक जिम्मेवारी दिन भने अटेर गरेका छन्।
त्यस्तै, कमल गाउँपालिकाका अध्यक्ष राईले वडा नं २ का अध्यक्ष अशोक सुब्बालाई अख्तियारी दिएका हुन्।