लम्पी स्किन रोगको प्रकोप पहाडमा घट्दै, तराईमा फैलिंदै
गाईभैंसीमा देशभरि फैलिएको लम्पी स्किन रोगको प्रकोप पहाडी जिल्लामा घट्न थालेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहाडी जिल्लामा रोगको संक्रमण क्रमशः घट्न थालेको बताएको छ। मन्त्रालयका अनुसार मनाङ र मुस्ताङ जिल्लामा यो रोग पूर्ण रूपमा नियन्त्रणमा आएको छ।
कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका मध्यपहाडी र पहाडी क्षेत्रका पशुलाई यो रोगले बढी प्रभाव पारेको थियो। ती क्षेत्रमा संक्रमण दर घटिरहेको मन्त्रालयको भनाइ छ। यद्यपि, मधेश प्रदेश, तराई र बागमती प्रदेशका केही जिल्लामा यो रोगको संक्रमण देखा परिरहेको मन्त्रालयले जनाएको छ।
अहिलेसम्म यो रोगबाट देशका १३ लाख पाँच हजार ३६१ पशु संक्रमित भएकोमा १० लाख ८२ हजार १५९ पशु निको भइसकेका छन्। अहिले देशभरिका एक लाख ७५ हजार ५५३ पशु संक्रमित अवस्थामा रहेको मन्त्रालयको तथ्याङ्क छ। मन्त्रालयका अनुसार यो रोगको संक्रमणका कारण देशभर ४७ हजार ६४९ पशु मरेका छन्।
पहिलो पटक यो रोग २०७७ असारमा मोरङको सुन्दरहरैंचा नगरपालिकामा देखिएको थियो। त्यतिवेला नफैलिएको यो रोग पछिल्ला पाँच महीनामा भने देशव्यापी भयो। यो रोगबाट गाई, गोरु, भैंसी, पाडापाडी, बाच्छाबाच्छी प्रभावित हुन्छन्।
मन्त्रालयले रोग नियन्त्रणका लागि खोप कार्यक्रम विस्तार गरिरहेको जनाएको छ। अहिलेसम्म १३ लाख ६९ हजार डोज खोप ल्याइएकोमा ६ लाख ८६ हजार पशुलाई खोप दिइएको जनाइएको छ।
लम्पी स्किन रोग विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन भारत र चीनसँग समन्वय गरिएको मन्त्रालयले जनाएको छ। लम्पी स्किन रोगको दीर्घकालीन नियन्त्रणका लागि स्वदेशमै खोप उत्पादनको आवश्यक तयारी गर्ने तथा रोगबाट प्रभावित कृषकलाई राहत सुविधा उपलब्ध गराउने निर्णय गरेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।