पुरातात्त्विक मोबाइलको ‘जतनशास्त्र’
पुरानो हुँदैमा त्यागिहाल्नुपर्छ भन्नेमा म त्यति विश्वास गर्दिनँ। पुरानो भयो त के भयो? एउटा स्मार्टफोनले जे जे गर्नुपर्ने हो, ती सबै यसले सही सलामत गर्दै आएकै छ।
के-कस्ता सामग्रीलाई पुरातात्त्विक भनिन्छ? नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको शब्दकोश अनुसार ‘प्राचीन समयका मानवले बनाएको अथवा उपयोग गरेको कुनै पनि चीज’ पुरातात्त्विक हो। ‘प्राचीन स्मारक संरक्षण ऐन’ का अनुसार १०० वर्षभन्दा पुरानो कलात्मक वा ऐतिहासिक महत्त्वको चीज पुरातात्त्विक सामग्री हो।
मैले चलाउँदै आएको दूरभाषयन्त्र (मोबाइल) यी दुवै कोटिमा पर्दैन। न प्राचीन मानव हुँ (एक्काइसौं शताब्दीको मानव हुन पाउँदा तपाईं जत्तिकै गर्व म पनि गर्छु) न त मैले चलाउने मोबाइल नै १०० वर्षभन्दा पुरानो हो (मार्टिन कुपरले मोबाइल फोन आविष्कार गरेकै सन् १९८४ मा हो)।
तथापि, साथीहरूका निम्ति मेरो मोबाइल फोन पनि पुरातात्त्विक सामग्री नै हो। जब जब मित्रमण्डलीको अनौपचारिक अधिवेशन चल्छ। प्रायः मलाई भनिन्छ-
‘सिंहदरबारको बाटो नहिंड्, पुरातत्त्व विभागले मोबाइल खोसेर राखिदेला।’ वा ‘साओमीले बेस्ट कन्ज्युमर अवार्ड दिंदै छ।’
हालैको एक अधिवेशनमा मैले अर्को पदवी पनि पाएँ। एक जना मित्रले मलाई ‘मोबाइल एक्स्पर्ट’ (विज्ञ)को पदवी गुथाइहाले।
यी सबै व्यंग्यवाणको कारक चाहिं अरू कोही होइन। आठ वर्षदेखि मेरा औंलामा खेलिरहेको मोबाइल फोन हो। एक-दुई वर्षमै मोबाइल फोन फेर्ने यो जमानामा आठ वर्षसम्म एउटै मान्छेको औंलासँग खेलिरहने नियति भोग्ने मोबाइल पुरातात्त्विक नभए अरू के होस्!
तर, सरसामग्री चलाउने मामिलामा अलि जिद्दी छु। पुरानो हुँदैमा त्यागिहाल्नुपर्छ भन्नेमा त्यति विश्वास गर्दिनँ। पुरानो भयो त के भयो? एउटा स्मार्टफोनले जे जे गर्नुपर्ने हो, ती सबै यसले सही सलामत गर्दै आएको छ। फोन गर्न, सन्देश आदानप्रदान गर्न, आवाज रेकर्डिङ गर्न, सामाजिक सञ्जाल चलाउन, वेबसाइट चलाउनदेखि कहिलेकाहीं फोटो खिच्नसम्म यही ‘पुरातात्त्विक मोबाइल’ ले मनग्गे काम दिएकै छ।
उसो त यो महँगो र प्रचलित स्मार्टफोन पनि होइन। चिनियाँ कम्पनी साओमीको रेडमी थ्री-एस मोडलको फोन हो, यो। हुन त रेडमीको यो शृङ्खला बढेर १३औं पुस्ताको फोन बजारमा आइसकेको छ क्यारे तर तेस्रो पुस्ताकै फोनले मेरो काम चलेको छ।
सन् २०१५ को नोभेम्बरमा शाङ्हाईमा किनिएको थियो, यो फोन। चीनमा नोभेम्बर ११ तारीखमा इन्टरनेट खरीदारीको ठूलो मेला लाग्छ, जसलाई ‘इलाभेन-इलाभेन’ भनी चिनिन्छ। यो दिन थाओपाओ, टिमल, जेडी जस्ता खरीदारीका लोकप्रिय साइटहरूले ग्राहकलाई पर्याप्त छूटको अफर गर्छन्। सोही दिन मित्र प्रभात भट्टराईले टिमलबाट छूटमा यो फोन किनिदिएका थिए। यो किन्न ठ्याक्कै कति मूल्य परेको थियो भन्ने त बिर्सिएँ तर १५ हजार रुपैयाँभन्दा बढी खर्च भएको थिएन भन्ने मलाई थाहा छ।
यो स्मार्टफोनलाई निकै जतन गरेकाले यतिका वर्ष टिकेको भन्न मिल्दैन। मोबाइल सुरक्षाका लागि मैले कम्मरपेटीमा मोबाइल घर अर्थात् पुन्टे झोला भर्ने वा तन्किने तारले बाँध्ने काम गरेको छैन। यन्त्र सुरक्षाको बाहिरी आवरण हालिएको पनि छैन। दुई हो वा तीन पटक यो हातबाट भुइँमा बेस्सरी बज्रियो पनि। दुई वर्षअघि हातबाट चिप्लिएर भुइँमा खसेसँगै यसको स्क्रीन चर्किन पुग्यो।
अलि पछि, उतापट्टिका आवाज आकांक्षीले नसुन्ने भएर यसको जाँच गर्न मोबाइल डाक्टरकहाँ नै लैजानुपर्यो। ध्वनि सम्प्रेषण गर्ने प्वाल धूलोले टम्म बनाएका कारण आवाज नसुनिने समस्या ब्रसले प्वाल सफा गर्नासाथै समाधान भयो। त्यसपछि यसले सेवामा गुनासो गर्ने मौका दिएको छैन।
भन्नै पर्दा, यो म आफैंले पैसा तिरेर किनेको पहिलो स्मार्टफोन पनि हो। यसभन्दा अघि एउटा स्मार्टफोन चलाएको थिएँ, जुन लन्डनवासी एक मित्रले अनुदानमा दिएका थिए। सन् २०१३ मा बेलायत गएको मौकामा सहयात्री पत्रकार लोकमणि राईले लन्डनमा बसोबास गर्ने मेरा मित्र हरिशसँग स्मार्टफोन किन्ने इच्छा सहित सोधखोज गरे। हरिशले अल्पव्ययमा स्मार्टफोन चलाउने उपायस्वरूप लोकमणिजीका लागि ‘सेकेन्ड ह्यान्ड’ फोन ल्याइदिए।
त्यसो त हरिशले मलाई पनि ‘सेकेन्ड ह्यान्ड’ मोबाइल किन्ने हो भनी नसोधेका होइनन्। तर, टुकटुके फोनमै चित्त बुझाएकाले मैले रुचि देखाइनँ। एकाध दिनपछि नेपाल फर्किंदा हरिशले काठमाडौंमा रहेका उनका दाइका लागि क्यामेरा पठाए, सँगसँगै एउटा स्मार्टफोन पनि थियो। नेपाल पुग्नुअघि नै हरिशको फेसबूकबाट सन्देश आएको रहेछ- ‘क्यामेरा दाइलाई दिनु, तर मोबाइल फोन चाहिं तपाईंकै लागि हो।’
मित्रले किन यसरी झुक्याएर उपहार दिए भनेर म लामो काल जिल्ल परिरहें। अनुदानको यो ‘सेकेन्ड ह्यान्ड’ स्मार्टफोन शिथिल हुन पुगेपछि नै मैले नयाँको रहर गरेको थिएँ। आखिर स्मार्टफोनको बानी परिसकेको थियो।
कम्पनीले जुन कामका लागि बनाएको हो, त्यो गरिन्जेल उक्त साधनको उपयोग गरिरहने मेरो जिद्दीपन मोबाइलमा मात्रै सीमित छैन। त्यसको अर्को उदाहरण मेरो भटभटे पनि हो।
भन्ने नै हो भने, यसलाई ‘फोर्थ ह्यान्ड’ नै भन्नुपर्ला, किनभने मभन्दा अगाडि तीन जनाले यसको सेवा लिइसकेका थिए। यसको पहिलो मालिक को थिए भन्नेसम्म जान्दिनँ। तर, उनीपछि लामो समय यो स्कूटर पत्रकार सरोज काफ्लेले चढ्नुभयो। उहाँ अमेरिका गएपछि यो स्कुटर मित्र प्रभात भट्टराईको जिम्मामा पुग्यो। भट्टराई पनि अमेरिका गएपछि पछिल्लो साढे पाँच वर्षदेखि यो पुरातनै भन्न मिल्ने स्कूटरले मलाई बोकिरहेको छ। त्यसैकारण यसलाई ‘सेकेन्ड ह्यान्ड’ भन्ने कि ‘फोर्थ ह्यान्ड’ भन्नेमा म अलमलमा पर्छु।
जति पुरानो भए पनि यसको सेवाको तारीफ गर्नुपर्छ। धेरै पटक यही वाहनले मलाई घर (रसुवा) लैजाने-ल्याउने गरेको छ। मद्यपान गरेका कैयौं मित्रलाई मध्यराति यही वाहनले उनीहरूका वासस्थान छोडिदिएको छ। एकाध पटक त नेपाल सरकारका पूर्व सचिवलाई नै समेत बोकेको छ, यसले। तर, मान्छे जातैले बैगुनी। यति सेवा दिंदा पनि यो वाहनले निन्दा भने हरतरहले खेप्नुपर्छ।
मेरै घरका सदस्यले यसको नामकरण ‘खटारो’ भनी गरेका छन्। मेरा कतिपय मित्रका अनुसार यो वाहन चलाएर निस्कँदा अलि पर्तिरबाटै यसको ध्वनि पहिचान हुन्छ। हुँदाहुँदा कार्यालयका सहयोगी दाइले समेत यो वाहनको ‘हर्न बाहेक सबैथोक बज्छ’ भनेर छेडखानीको मौका गुमाउँदैनन्।
मोबाइल फोन र वाहन मात्र ‘पुरातात्त्विक’ होइनन्, मेरो ल्यापटप पनि एक दशक पुरानै हो। २०६९ सालमा किनेको ल्यापटप प्राणान्त हुने स्थितिमा पुगेपछि मात्रै यसपालि नयाँको जोहो भयो। तैपनि पुरानोलाई फालिहालेको चाहिं छैन, वेलाबखत यसले पनि सेवा दिएकै छ।
त्यसो त लत्ताकपडालाई पनि सकेसम्म र मिल्ने जति उपयोग गर्नेमा म नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौडेल जत्तिकै सचेत छु। जस्तै- मैले आठ वर्षपछि यसै पाला नयाँ जुत्ता किनें।
सन् २०१५ मा शाङ्हाई बस्दा मैले एकै पटक ‘आर्ख’ ब्रान्डका तीन जोर जुत्ता किनेको थिएँ, पालैपालो तिनले पाउको सेवा गरे। यद्यपि ती पुराना जुत्ता फाल्नुपर्ने स्थितिमा पुगिहालेका छैनन्, प्रातः परिभ्रमण र अड्कोपड्कोमा काम दिएकै छन्। शाङ्हाई बस्दा किनेका लुगाकपडा त अहिलेसम्म भरपूर काम आइरहेकै छन्।
विदेश गएका वेला एकाध कमीज किनेको गणना नगर्ने हो भने यसबीचमा मैले लुगा किन्दै किनिनँ भन्न पनि मिल्छ। पछिल्ला दुई हिउँदमा शाङ्हाईमा किनेको ज्याकेट फालेर नयाँ लिऊँ कि भनेर निकै पटक सोचविचार नगरेको पनि होइन। तर, पुरानैले काम दिंदादिंदै किन नयाँ लिनुपर्यो भन्ने दिव्य विचार पलाएपछि नयाँ ज्याकेटको खरीद योजना मुल्तबीमा पर्यो।
लीलामणि पौडेलको प्रसङ्ग किन उप्काएको भने, एउटै कोट सधैं लगाउने उनको बानीबाट पूर्व प्रधानमन्त्री सुशील कोइराला नै प्रभावित भएको कसैले सुनाएका थिए। माओवादी नेतृत्वको सरकारले मुख्यसचिव नियुक्त गरेका पौडेल कोइराला प्रधानमन्त्री भएका वेला पनि मुख्यसचिव थिए।
त्यसैकारण कांग्रेसीजनका दृष्टिमा दलइतर बनेका पौडेललाई मुख्यसचिवबाट हटाउन प्रधानमन्त्री कोइरालालाई उक्साउन खोजियो। प्रधानमन्त्री कोइरालाले उक्साउन खोज्ने नेतागणलाई भन्थे अरे, “ती पौडेल मुख्यसचिव सधैं एउटै कोट लगाउँछन्, विचरा भ्रष्टाचार गर्दैनन्, त्यही भएर हटाउन हुँदैन।”
तर, दु:खद कुरा चाहिं के छ भने, तत्कालीन मुख्यसचिव पौडेलबाट प्रधानमन्त्री कोइराला प्रभावित भए जसरी मसँग भने कोही पनि प्रभावित भैहालेका छैनन्।
सरसामानलाई जतन गर्ने मेरो उहिलेदेखिकै बानी पनि भन्न मिल्ला। बिग्रिएकै उपकरण, साँघुरो भएको लुगाकपडा वा पुराना कापीकिताब समेत फालिहाल्न मन मान्दैन। कुनै न कुनै वेला केही न केही प्रयोजनमा तिनको काम आउँछ कि भनेर राख्न मन लाग्छ। सद्धे मालसामान त काम दिउन्जेल फाल्ने कुरै भएन। काठमाडौं आएपछि किनेका झन्डै दुई दशक पुराना कतिपय भाँडाकुँडाबाट अहिले पनि सेवा लिइरहेकै छु।
जतन गर्ने बानीको घाटा पनि उत्तिकै छ। नचाहिने सरसामान थुपार्दै जाँदा घर-कोठा भद्रगोल हुने त भइहाल्यो, घरपरिवारको खप्की र व्यंग्य पनि उत्तिकै खेप्नुपर्छ। भद्रगोलबीच हराएर कहिलेकाहीं चाहिएकै सामान पनि भेटिंदैन। अझै भन्नुपर्दा, पुराना चिजबिजको प्रयोगले कतिपय वेला धक मान्नुपर्ने स्थिति पनि निम्त्याउँछ।
जस्तो- चर्को ध्वनि निकाल्ने पुरानो स्कूटर चढेर मलाई चिनजानका कसैको घर जान कम्ती हिचकिच लाग्दैन। कामका सन्दर्भमा कहिलेकाहीं धन-कुबेरहरूलाई भेट्न जानुपर्छ, त्यति वेला पनि यही जीर्ण वाहन चढेर जानुपर्दा अप्ठ्यारै लाग्छ। एक पटक त यतिसम्म भयो, यसको खै कुन्नि कुन चाहिं यन्त्रमा खराबी आएको रहेछ, धुवाँको सेतो मुस्लो नै छोड्थ्यो, जसले गर्दा सवारीसाधनमा बसेका मात्रै होइनन्, सडक किनाराबाट हिंड्नेले पनि मतिर हेरेर व्यंग्यात्मक मुस्कान छोडेकै हुन्थे।
उसैगरी, रङ खुइलिएको, स्क्रीन चर्किएको मोबाइल फोन खल्तीबाट निकालेर जहाँ पायो त्यही फोटो खिचिहाल्न पनि धक लाग्ने भइहाल्यो। गएको जुलाईमा एउटा फेलोशिप अन्तर्गत सिंगापुर गएको थिएँ। ‘क्लार्ककी’ सेन्टर मलको २४औं तलामा रहेको कार्यक्रमस्थलबाट पूर्वपट्टिको ‘मरिना बे स्यान्ड’ को मनोहर दृश्यलाई पृष्ठभूमिमा राखेर अन्य सहभागीले अनेक हाउभाउ सहितको सेल्फी कैद गरिरहेका थिए। तर, जीर्ण-कायाको मोबाइल निकालेर मलाई तस्वीर खिच्ने आँट आएन। मन लाग्दालाग्दै पनि सेल्फीको मन मारियो।
यस्ता सानातिना असुविधा भए पनि काम चलुन्जेल पुराना मालसामान खेर फाल्नु हुँदैन, उपयोग गर्नुपर्छ भन्ने विचारमा अडिग नै छु। किफायती छोडेर ठूलो, महँगो र धेरै खोज्ने बानीलाई छोड्दा आर्थिक मात्र होइन, वातावरणीय हिसाबले समेत भलाइ नै हुन जान्छ भन्ने मत छ मेरो। हुन त तपाईं यसलाई आफ्नो स्वभाव स्थापित गर्न गरिएको तर्क पनि भन्न सक्नुहुन्छ। तर, अत्यधिक उपभोग र खपतले माग बढाएकाले प्राकृतिक स्रोतमा चाप बढ्नुका साथै व्यवस्थापन र वितरण संसारभरि नै जटिल बनिरहेको त सबैले स्विकारिरहेकै तथ्य हो। विश्वलाई नै तर्साइरहेको जलवायुको परिवर्तन र तापमान वृद्धि पनि अधिक उपभोग र खपतबाटै सिर्जित हो।
त्यसैकारण धेरै उत्पादन, बढी उपभोग गरी अर्थतन्त्र चलायमान बनाउने अभ्यास गरिरहेकै मुलुकहरूमा पनि पछिल्लो समयमा दिगो उपयोग, पुनरुपयोग जस्ता अवधारणा फैलिन थालेका छन्। हुन त गरीबीमै दैनिकी बित्दै आएको नेपालीका लागि मनग्गे वस्तु र सेवाको खपत गर्न पाएको समय अहिले नै होला। तैपनि ‘स्मल इज ब्यूटिफूल’ वा ‘मिनिमालिज्म’ जस्ता अवधारणामा घोत्लिने वेला चाहिं नआएको होइन।
आम नागरिकभन्दा पनि अगाडि त नीतिनिर्माताले नै किफायती खर्चका विषयमा चिन्तन नगरी नहुनेछ। जता पनि महँगो र अनावश्यक चिजबिजको बाढी नै लगाउने, नचाहिने संरचनामा खर्च गर्नेमा सरकारै अगाडि आउँछ। नागरिकले तिरेको करबाट डाँडैपिच्छे भ्यूटावर, जिल्लैपिच्छे विमानस्थल, ठूला ठूला भवन, महँगा मोटरगाडी किनेर फुर्मास गर्नमा पछिल्ला वर्षमा प्रतिस्पर्धा जस्तै छ। गाउँपिच्छे भव्य र महँगो सरसामान प्रयोग गरिएका सरकारी भवन, संरचनामा ठूलो खर्च भइरहेको छ।
काठमाडौंमै सरकारी कार्यालयमा रकम खन्याइएको देख्दा त्यो आवश्यक हो कि होइन भन्ने दुविधा सधैं हुने गर्छ। जस्तो- सर्वोच्च अदालतको भवन बनाउनै ६ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिंदै छ। सिंहदरबारभित्र नयाँ संसद् भवन बनाउन झन्डै १० अर्ब खर्च हुँदै छ। यसको आन्तरिक साजसज्जामा मात्रै साढे दुई अर्ब रुपैयाँ खर्च गरिनेछ।
नेपाल राष्ट्र ब्यांकको भवन बनाउन दुई अर्ब रुपैयाँभन्दा बढी खर्च हुँदै छ। विमानको टुङ्गो नभए पनि जिल्लैपिच्छे विमानस्थल बनाएर रकम सक्न उस्तै प्रतिस्पर्धा छ। अर्बौं खर्च गरिएका पोखरा र भैरहवा विमानस्थलको उपयोगितामा समेत प्रश्न उठेकै छन्।
सरकारी सवारीसाधनलाई नै हेरौं। सिंहदरबार र अन्यत्रका सरकारी कार्यालयमा दर्जनौं सवारीसाधन थन्किएर, खिया लागेर बसेका छन्। तीमध्ये कतिपय त चलाउनै मिल्ने स्थितिको भएको सरकारी अधिकारीले बताउँछन्। तर, नागरिकले तिरेको कर खर्च गरेर नयाँ चढ्न पाइन्छ भने पुरानो कसले चढ्ने? हरेक वर्ष सरकारले अर्बौं रुपैयाँको सवारीसाधन किनिरहेकै छ। अझ, सडक, सिंचाइ, विद्युत्जस्ता मामिलाका कार्यालयमा जानुपर्छ तीन-चार करोड रुपैयाँ पर्ने गाडीको ताँती देख्न पाइन्छ।
आम नागरिकको आनीबानी पनि उस्तै छ। मोबाइल फोनलाई नै हेरौं। नयाँ मोडल आउने बित्तिकै नयाँ स्मार्टफोन चाहिहाल्ने, सकभर आइफोन नै खोजिहाल्ने प्रवृत्ति बढेपछि हरेक महीना नेपालीले तीन अर्बभन्दा बढीको मोबाइल फोन झिकाइरहेका छन्। गत आर्थिक वर्ष २०७९/८० मा नेपालले २६ अर्ब ५१ करोड रुपैयाँको मोबाइल फोन किन्यो। सरकारले महँगा मोबाइल फोनको आयातमा प्रतिबन्ध लगाएका कारण यो वर्ष आयात घटेको देखिएको हो। नत्र त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा त मोबाइल फोनको आयातमा मात्रै ४१ अर्ब १५ करोड रुपैयाँ बाहिरिएको थियो। विदेशमा किनेर नेपालमा उपहारका रूपमा आफन्तजनलाई दिइने मोबाइलको त हिसाबै छैन।
जब जब यी आँकडाहरू मनमा राखेर घोत्लिबस्छु, ‘पुरातात्त्विक सामग्री’ चलाइरहने मेरो स्वभाव ठीकै हो भन्ने निष्कर्षमा पुग्छु। म जस्तै जिद्दी मानिसहरू अलि धेरै हुँदा नयाँ मोडलबाट नाफा कमाउने बहुराष्ट्रिय कम्पनीलाई घाटा भए पनि नेपाल जस्तो आश्रित अर्थतन्त्र भएको मुलुक र मानवीय उपभोगको दोहन खेपिरहेको पर्यावरण दुवैलाई फाइदा पुग्थ्यो। आखिर आवश्यक नपरी नफेर्ने र जतन गरेर चलाउने हो भने मोबाइल फोन एक-दुई वर्षमै फेरिरहनु पर्दैन।
लेखक केदार शर्माले अघिल्लो वर्ष आफ्नो स्मार्टफोनको प्रतिदिन मूल्य करीब ३० रुपैयाँ रहेको र यसलाई सकभर प्रतिदिन २० रुपैयाँ नपुगुन्जेल चलाउने चाहना रहेको ट्वीटरमा लेखेका थिए। उनको मोबाइलको दैनिक लागत कति पुग्यो कुन्नि? मेरो चाहिं स्मार्टफोनको दैनिक लागत पाँच रुपैयाँभन्दा पनि तलै झरिसकेको छ। तैपनि, यो जीर्ण कायाको फोनलाई अझै कम्तीमा एक वर्ष चलाउने सोच छ।