घरजग्गा कारोबार साउनमा फेरि शिथिल, भदौमा बढ्ने अनुमान
घरजग्गाको कारोबार साउनमा शिथिल देखिएको छ भने भदौमा बढ्ने अनुमान गरिएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनमा देशभरि ३९ हजार २६३ वटा मात्रै घरजग्गाको लिखत पारित भएका छन्। यो असारका तुलनामा न्यून हो। असारमा ४८ हजार ७७१ वटा घरजग्गा किनबेच भएका थिए।
अघिल्लो वर्ष निकै सुस्त भएको घरजग्गा कारोबार पछिल्ला महीनामा सुधार आएको थियो। माघयता हरेक महीना घरजग्गा कारोबार ४० हजारभन्दा बढी नै थियो। जेठमा घरजग्गाको किनबेच ५५ हजार नाघेको थियो। तर, नयाँ आर्थिक वर्षको पहिलो महीनामै घरजग्गाको किनबेच घटेको हो।
साउन यसै पनि घरजग्गा किनबेच गर्न उत्साहपूर्ण हुने महीना होइन। कित्ताकाटमा झमेला, ब्यांकको महँगो ब्याजदर, मलमास तथा आर्थिक शिथिलताका कारण घरजग्गा कारोबार साउनमा न्यून भएको अनुमान छ।
कित्ताकाट रोकिएका कारण अर्थतन्त्र नै शिथिल भएको भन्दै सरकारले जग्गा वर्गीकरण नगरी पनि कित्ताकाट खुलाउन भू-उपयोग नियमावली नै संशोधन गरिसकेको छ। साउन मसान्तमा कित्ताकाट फुकुवा गर्ने निर्णय भएकाले भदौदेखि भने घरजग्गा कारोबार बढ्ने अनुमान छ।
यद्यपि, गत वर्षको साउनसँग तुलना गर्दा भने यस वर्षको साउनमा घरजग्गा किनबेच बढेको देखिन्छ। २०७९ साउनमा देशभरि ३३ हजार ८३४ वटा घरजग्गा किनबेच भएका थिए। गत वर्षको जेठपछि पुससम्म घरजग्गा किनबेचमा निकै शिथिलता देखिएको थियो।
साउनमा घरजग्गा कारोबारबाट सरकारले पाउने राजस्व रकम समेत घटेको छ। घरजग्गा किनबेचबाट असारमा चार अर्ब २७ करोड रुपैयाँ राजस्व उठेकोमा साउनमा घटेर दुई अर्ब ९१ करोड चार लाखमा सीमित भएको छ।
गत वर्ष घरजग्गा कारोबार शिथिल हुँदा सरकारी राजस्व निकै घट्न पुगेको थियो। आर्थिक वर्ष २०७९/८० मा सरकारले घरजग्गा किनबेचबाट ४१ अर्ब ७३ करोड रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको थियो। जबकि आर्थिक वर्ष २०७८/८९ मा सरकारले घरजग्गा कारोबारबाट ७५ अर्ब ५५ करोड राजस्व सङ्कलन गरेको थियो।