प्रतिनिधि सभाको बैठक फेरि सूचना टाँसेर स्थगित
प्रतिनिधि सभाको बैठक आज पनि सूचना टाँसेर स्थगन गरिएको छ।
संघीय संसद् सचिवालयले सूचना प्रकाशित गरी आजको बैठक विशेष कारणले स्थगन भएको जनाएको छ। संघीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा भनिएको छ, ‘सभामुखज्यूले सभाको अर्को बैठक मिति २०८० भदौ ५ गते मंगलबार दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’
सुन तस्करी प्रकरणलाई लिएर एक महीनादेखि संसद् अवरुद्ध हुँदै आएको छ। सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै नेकपा (एमाले)ले संसद् अवरोध गर्दै आएको छ।
गत साउन ३ गते हङकङबाट आएको साढे ६० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको थियो। यो प्रकरणमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ।
एमालेले भने यसको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ। सत्तारूढ दल भने राज्यका निकायलाई नै छानबिन गर्न दिनुपर्ने अडानमा छन्। सत्तारूढ र प्रतिपक्षका आआफ्नै अडानका कारण एक महीनादेखि संसद् चल्न सकेको छैन।
यस विषयमा आजै पनि प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग र सभामुख देवराज घिमिरले सबै दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए। तर, दुवै छलफल निष्कर्षविहीन भएका छन्।