नेपालआजका सञ्चालक माधव गुरागाईं साइबर अपराधमा दोषी ठहर
नेपाल आज डटकमका सञ्चालक माधवप्रसाद गुरागाईं साइबर अपराधको कसूरमा दोषी ठहर भएका छन्।
गुरागाईंले एक पूर्व सहकर्मीलाई फोन तथा सामाजिक सञ्जालमा सन्देश पठाएर जिस्क्याउने, फकाउने, धम्क्याउने गरेको भन्दै जाहेरी परेको थियो। २०७८ चैतमा गुरागाईं विरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो। त्यसमा जिल्ला अदालत, काठमाडौंले गुरागाईंलाई दोषी ठहर गरेको हो।
फैसलाको पूर्ण पाठ सार्वजनिक भएको छ। विद्युतीय कारोबार सम्बन्धी कसूर अनुसार गुरागाईंलाई जिल्ला अदालतले २० हजार बिगो र सोही मात्रामा जरिवाना हुने फैसला गत माघ २९ गते सुनाएको थियो।
न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले गुरागाईंको मेसेजबाट पीडित महिलालाई मानसिक हैरानी तथा तनाव पुर्याएको फैसला गरेको हो। ऐनको दफा ४७ को उपदफा १ मा महिलालाई जिस्क्याउने, हैरान पार्ने, अपमान गर्ने वा अन्य अमर्यादित कार्य गर्न, गराउन निषेध छ।
यस्तो कसूर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। गुरागाईंको हकमा भने आर्थिक-सामाजिक हैसियत सामान्य भएको भन्दै न्यूनतम सजाय तोकिएको छ।
तर, पीडित पत्रकारले भने अदालतबाट दोषी ठहर भएपछि पनि गुरागाईंले आफूलाई अश्लील मेसेज पठाएर हैरानी दिइरहेको आरोप लगाएकी छन्। अदालतले न्यूनतम सजाय तोक्दा गुरागाईंको मनोबल बढेको भन्दै पीडितले पूर्ण पाठ आएसँगै उच्च अदालतमा पुनरावेदन दिने तयारी भइरहेको बताएकी छन्।
उनले भनिन्, “अदालतबाट दोषी ठहर भएपछि सुध्रिने अपेक्षा गरेकी थिएँ तर अहिले पनि उनले अश्लील सन्देश पठाएर हैरानी दिइरहेका छन्।”