सभामुखले बोलाएको बैठकमा जुटेन सहमति
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् अवरोध खुलाउने विषयमा राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरे पनि सहमति जुट्न सकेन।
सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा आइतबार दिउँसो बसेको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सचेतकले आआफ्नो अडान कायमै राखेपछि संसद् खोल्ने विषयमा सहमति जुट्न सकेन। सभामुख घिमिरेले लगातार संसद् अवरुद्ध हुँदा सांसदप्रति आमजनतामा नकारात्मक सन्देश गएकाले सहमतिका लागि मान्यता प्राप्त दलका प्रमुख सचेतकसँग छलफल गरेका हुन्।
बैठकमा प्रमुख प्रतिपक्षी दलका सचेतकले संसद् अवरोधलाई थप सशक्त बनाउने र सत्तापक्षले पनि आफ्नो अडान कायमै राखेपछि बैठक निष्कर्षविहीन बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक सन्तोष परियारले बताए। केही विमति भए सदनमै छलफल गर्न र संसद् अवरोध अन्त्य गर्न बैठकमा रास्वपाका तर्फबाट आग्रह गरेको उनले बताए।
बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) तथा प्रमुख प्रतिपक्षी दलबाट नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक लगायत सहभागी थिए। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै आएको छ भने सत्तारूढ दलहरू त्यस विषयमा सहमत हुन नसक्दा संसद् सञ्चालन हुन सकेको छैन।