प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ भदौ ४ मा
संसदीय सुनुवाइ समितिले भदौ ४ मा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ गर्ने भएको छ।
समितिको आइतबार बसेको बैठकले भदौ ४ मा संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो। प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिश भएर संसदीय सुनुवाइ समितिमा आएको हो।
यसअघि संसदीय सुनुवाइ समितिले श्रेष्ठ विरुद्ध उजुरी आह्वान गरेको थियो। उनी विरुद्ध तीन वटा मात्र उजुरी परेको समितिले जनाएको छ।
समितिले शुरूमा उजुरीकर्तासँग जानकारी लिनेछ। त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रारम्भ गर्नेछ।
यसअघि बैठकमा परेका उजुरीबारे जानकारी दिन सदस्यलाई त्यस सम्बन्धी कागजात वितरण गरिएको थियो। संसदीय सुनुवाइका क्रममा उनले आफ्नो योग्यता, अनुभव, कार्ययोजना र अवधारणा प्रस्तुत गर्नेछन्।
संसदीय समितिले सबै विषयवस्तुबारे जानकारी लिएपछि उनको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्नेछ।