प्रधानमन्त्री दाहालले बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को गतिरोध हटाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न साढे १२ बजे सर्वदलीय बैठक बोलाएका हुन्। संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन्।
संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाएका छन्। एक महीनादेखि संसद् अवरुद्ध हुँदै आएको छ।
साढे ६० किलो सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद् अवरुद्ध गर्दै आएको छ। एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिरहेको छ।
सत्तारूढ गठबन्धनले राज्य संयन्त्रबाटै अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ। गठबन्धनको बैठकले उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको निष्कर्ष निकालेको छ। जसले गर्दा संसद्को गतिरोध अन्त्य हुन सकेको छैन।