बाढीले क्षतिग्रस्त कागबेनीको पुनर्निर्माण थालियो
बाढीले कागबेनीका २९ घर पूर्ण क्षति भएका छन् भने १३ घर र जनशान्ति माविको भवनमा आंशिक क्षति भएको छ।
गत आइतबार काग खोलामा आएको बाढीले क्षति पुर्याएको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनर्निर्माण थालिएको छ। समयमै सूचना पाएका कारण मानवीय क्षति हुनबाट जोगिएको भए पनि स्थानीयको घर सहित बन्दोबस्तका सामान खोलाले बगाएको थियो।
गण्डकी प्रदेश सरकारले बाढीपीडित बनेका नागरिकका लागि राहत सामग्री सहित उपचार र पुनःस्थापनाको काम शुरू गरेको छ। घरविहीन भएकाले कागबेनीवासीको दैनिकी असहज बनेपछि भत्किएको संरचना व्यवस्थित गर्न मशिन, उपकरण तथा सवारीसाधनका लागि प्रदेश सरकारले इन्धन लगायत सामग्री पठाएर काम गरिरहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङले जानकारी दिए।
त्यसैगरी, प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्यांकेट पठाउने तथा बाढीपहिरो क्षेत्रमा खानेपानी, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति गरिरहेको छ। यस्तै, यातायात व्यवस्थापन, कृषि र पशुजन्य क्षति व्यवस्थापन, भू-संरक्षण लगायत काम पनि गरिरहेको गुरुङले बताए।
जनप्रतिनिधि सहित बसेर बाढीपीडितका लागि गर्न सकिने विकल्पबारे योजना बनाउने र सोही अनुरूप अघि बढ्ने काम भइरहेको उनले जानकारी दिए।
बाढीले कागबेनीका २९ घर पूर्ण क्षति भएका छन् भने १३ घर र जनशान्ति माविको भवनमा आंशिक क्षति भएको छ। दुईपाङ्ग्रे १६ र चारपाङ्ग्रे दुई वटा गरी १८ सवारीसाधन, एउटा एस्काभेटर, कागबेनी-माथिल्लो मुस्ताङ जोड्ने एउटा मोटरेबल पक्की पुल, कागबेनी-तिरी जोड्ने एउटा झोलुङ्गे पुल, तीन वटा काठेपुल, एउटा सानो पक्की पुल, नौ वटा गोठ सहित करीब ३२ वटा चौपाया बाढीमा बगेका जिल्ला प्रशासन कार्यालय, मुस्ताङले जनाएको छ।
यसैगरी, गाउँपालिका- ४ को वडा कार्यालय, इलाका प्रहरी चौकी, कागबेनी श्राद्धस्थलको मन्दिर तथा आवास क्षेत्र समेत बगाएको छ। -रासस