महिला विश्वकपको उपाधिका लागि आज स्पेन र इङ्ल्यान्ड भिड्ने
पहिलो पटक महिला विश्वकपको फाइनल खेलिरहेका यी दुई टोली हालसम्म विश्वकपमा आमनेसामने भएका छैनन्।
फिफा महिला विश्वकप फूटबलको उपाधिका लागि आज स्पेन र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ। स्टेडियम अस्ट्रेलियामा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बाट शुरू हुनेछ।
स्पेन र इङ्ल्यान्ड दुवैले आज पहिलो पटक महिला विश्वकपको फाइनल खेलिरहेका छन्। त्यसैले जुनै टोलीले जित हात पारे पनि विश्वविजेता बन्ने पाँचौं फरक राष्ट्र हुनेछ। हालसम्म महिला विश्वकप अमेरिकाले चार पटक, जर्मनीले दुई पटक, नर्वेले एक पटक र जापानले एक पटक जितेका छन्।
यस्तै, गएराति सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा स्विडेनले अस्ट्रेलियालाई २-० गोलअन्तरले पराजित गर्यो। फ्रिदोलिना रोल्फोले ३०औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै स्विडेनलाई शुरूआती अग्रता दिलाएकी थिइन्। ६२औं मिनेटमा कोसोभारे अस्लानीले दोस्रो गोल गरेकी थिइन्।
यसअघि सेमिफाइनलमा स्विडेन स्पेनसँग २-१ गोलअन्तरले पराजित भएको थियो भने अस्ट्रेलिया इङ्ल्यान्डसँग ३-१ गोलअन्तरले पराजित भएको थियो।
स्पेन र इङ्ल्यान्ड हालसम्म विश्वकपमा आमनेसामने भएका छैनन्। यद्यपि सबैखाले प्रतियोगितामा भने पछिल्लो १३ खेलमा इङ्ल्यान्ड सात पटक स्पेन विरुद्ध विजयी भएको छ भने स्पेन दुई पटक इङ्ल्यान्ड विरुद्ध विजयी भएको छ। चार खेल बराबरीमा टुङ्गिएको छ।