नेपाल एअरलाइन्सले साउदी अरबको दमाम उडान गर्ने
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले साउदी अरबको दमाममा सीधा उडान गर्ने भएको छ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेबाट काठमाडौंदेखि दमाममा उडान गर्न लागेको हो। यसका लागि आजबाट टिकट बूकिङ खुला गरिएको छ।
यसअघि निगमले साउदी अरबकै रियादमा पनि उडान गरिरहेको छ। नेपाल एअरलाइन्सको यो ११औं अन्तर्राष्ट्रिय उडान गन्तव्य हो।
उडान तालिका अनुसार काठमाडौं-दमाम-काठमाडौं सेक्टरमा निगमले साताको दुई दिन बुधबार र शनिबार उडान गर्नेछ। बजारको माग अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको प्रवक्ता पौडेलले बताए।
काठमाडौं-दमामको प्रवर्द्धनात्मक भाडादर ३५ हजार रुपैयाँ तोकिएको छ। दमाम-काठमाडौंका लागि भने ५९६ साउदी रियाल तोकिएको छ।
निगमले अहिले दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी जहाज मार्फत आठ देशका १० गन्तव्यमा उडान गरिरहेको छ।