एकाएक कार्यालयमै अचेत भएका एसपी थपलियाको निधन
एकाएक कार्यालयमै अचेत भएका सशस्त्र प्रहरी बलका उपरीक्षक सुमन थपलियाको निधन भएको छ।
पर्सास्थित सशस्त्र प्रहरी बल १३ गणको मुख्यालयमा कार्यरत ४४ वर्षीय एसपी थपलिया शनिबार बिहान साइक्लिङ गरेर कार्यालय आएका थिए। उनले शनिबार बिहान मात्रै ४२ किलोमिटरको साइकल यात्रा गरेका थिए।
कार्यालय पुगेको केही समयपछि उनी एकाएक अचेत भएका थिए। तत्कालै उनलाई वीरगन्जस्थित नेपाल मेडिसिटी वयोधा अस्पताल लगिएको थियो। अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए।
“बिहान साढे ११ बजे अचेत भएर लडेका थिए, उपचारका अस्पताल लगिएको थियो। अस्पतालले मृत घोषणा गरेको छ,” शाहले भने।
एसपी थपलिया नुवाकोटका बासिन्दा हुन्। उनले प्रायः साइक्लिङ गर्ने गरेका थिए।
हृदयाघातका कारण उनको ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ। शव परीक्षण गर्न बाँकी रहेकाले यकीन नभएको अस्पतालले जनाएको छ।