संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत छैन: सुवास नेम्वाङ
संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का नेता सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताएका छन्।
संघीय संसद्द्वारा शनिबार आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रियामा बोल्दै नेम्वाङले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसङ्गत नभएको बताएका हुन्। “संसद् अवरोध नियमसङ्गत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन,” एमाले संसदीय दलका उपनेता नेम्वाङले भने, “राजनीतिक रूपमा गरिने हुनाले यसको पुनःपुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो।”
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको साढे ६० किलो सुनको विषयलाई लिएर एमालेले संसद् अवरुद्ध गर्दै आएको छ। सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेले माग गरिरहेको छ।
सत्तारूढ गठबन्धनले भने छुट्टै छानबिन समिति आवश्यक नभएको जनाएको छ। सुन तस्करीबारे राज्यका निकायले नै छानबिन गरिरहेकाले अर्को छानबिन समिति गठन गर्न नहुने निष्कर्ष निकालेको छ।
एमालेले भने उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म संसद् चल्न नदिने अडान लिएको छ। जसले गर्दा एक महीनादेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्न सकेको छैन। यस्तो वेला एमाले संसदीय दलका उपनेता नेम्वाङले संसद्को अवरोध संविधान र नियमसङ्गत नभएको अभिव्यक्ति दिएका छन्।
त्यस्तै, पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि संसद् अवरुद्ध गर्नु ठीक नभएको बताए। “सदन अवरुद्ध गरेको मलाई मन परेको छैन, अवरोध नगरौं, संवाद गरौं, संवादको विकल्प संवाद मात्रै हो,” श्रेष्ठले भने, “अहिले भइरहेको अभ्यासले संसदीय पद्धतिको विकासमा सहयोग गर्दैन कि भन्ने लाग्छ।”
उपसभामुख इन्दिरा रानाले पत्रकारिता संसद् र आमनेपाली जनताको ऐनाका रूपमा रहेको धारणा व्यक्त गरिन्। “मुलुकको सञ्चार जगत्ले राष्ट्र र जनताको हितका पक्षमा सधैं चनाखो भएर कलम चलाउन आवश्यक छ,” उपसभामुख रानाले भनिन्।