समृद्धि केही व्यक्तिमा सीमित हुनु हुँदैन: अर्थमन्त्री महत
अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक समृद्धिलाई केही व्यक्तिमा सीमित बनाउन नहुने बताएका छन्।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ ‘ख’ को सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले आर्थिक समृद्धि हासिल गर्ने नै लक्ष्य रहेको बताए। “हाम्रो लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने हो,” महतले भने, “समृद्धि केही व्यक्तिमा सीमित हुनु हुँदैन।”
आर्थिक समृद्धि हासिल गर्न सबै लाग्नुपर्ने उनको भनाइ थियो। “कोही व्यक्ति छैन भने अर्को आउँछ, पार्टी अविछिन्न अघि बढ्छ,” महतले भने। “सोच्ने, बोल्ने, लेख्ने, बाटो देखाउने सबैलाई एक ठाउँमा जोड्नुपर्छ। यी सबै जोड्यो भने बलियो भइन्छ, मिसन सफल हुन्छ।”
कुनै पनि संगठनमा एक व्यक्तिलाई अपरिहार्य बनाउन नहुने उनेको तर्क थियो। “कोही पनि सर्वगुणसम्पन्न हुँदैन,” नेतृत्वको कमीकमजोरी सुधार्न दबाब दिनुपर्ने बताउँदै महतले भने, “हनुमानले पहाड उचाले जस्तो कांग्रेसमा एक्लै पार्टी उचाल्ने मान्छे कोही छैन। सबैको बल र बुद्धि उपयोग गरियो भने मात्र पहाड उचाल्न सक्छौं।”
कांग्रेसका युवा नेताहरूप्रति लक्षित गर्दै महतले भने, “म चाहिं ठूलो, राम्रो र योग्य, म भए पार्टीको कायापलटै गर्दिन्थें, अरू भएर बिग्रेको हो भनेर हामी सामाजिक सञ्जालमा बढी समय खर्चिन्छौं। यसको सट्टा हामीले पार्टीको इतिहास, सिद्धान्त, गरेका काम, गरिरहेका काम र गर्ने कामबारे सामाजिक सञ्जालमा समय खर्चियौं भने मात्र हाम्रो मिसन सफल हुन्छ।”