हनुमानढोकामा चित्रकला प्रदर्शनी
कलाकार हरिप्रसाद शर्माका चित्रकलाको प्रदर्शनी हनुमानढोका दरबार संग्रहालयमा शुरू भएको छ।
संग्रहालयको गोलघरमा शुरू भएको प्रदर्शनीमा परम्परागत नेपाली समाजको झल्को दिने शर्माका चित्र राखिएका छन्। प्रदर्शनीको उद्घाटन गर्दै हनुमानढोका दरबार संग्रहालय विकास समितिका अध्यक्ष भरतमणि सुवेदीले शर्माका चित्र अनुसन्धान तथा तत्कालीन समाज बुझ्ने आधार हुने बताए। विराजभक्त श्रेष्ठले सांस्कृतिक सम्पदाको जगेर्नामा हातेमालो गर्नुपर्ने धारणा राखे।
यससँगै ‘हनुमानढोका’ स्मारिकाको विमोचन गरिएको छ। स्मारिकामा प्राध्यापक दिनेशराज पन्त, वीणा पौड्याल, गौतमवज्र व्रजाचार्य, काशीनाथ तमोट, श्याम सुन्दर राजवंशी, सन्तोष धिताल, अनिल चित्रकार, सन्दीप खनाल, वास्टिङ हेरिस, रिचार्ड विडनिस र प्रेमकुमार खत्रीका लेख संगृहीत छन्।
प्राध्यापक पन्तले हनुमानढोका दरबार र गोरखा दरबारको सम्बन्ध कस्तो थियो भन्ने विश्लेषण गरेका छन्। हेरिसले हनुमानढोका दरबारको मूलचोकमा रहेको हिटीमा भएको भथिरथीको मूर्ति गोरखनाथको हुन सक्ने कुरा आफ्नो अनुसन्धानात्मक लेखमा प्रस्तुत गरेका छन्।
रिचार्ड विडनिसले प्रताप मल्लकालीन तुलादान गरिएको एउटा चित्रकलाको मिहिन विश्लेषण गरेका छन्। राजवंशीको लेखमा दरबार परिसरको जलद्रोणीमा पाइएको पूर्व मध्यकालीन अभिलेखको विश्लेषण छ।