ओसाकामा नेपथ्यको जापान यात्राको समापन
'मानवताको लागि सङ्गीत' अभियान अन्तर्गत जापान पुगेको लोक-रक ब्यान्ड नेपथ्यले तेस्रो तथा अन्तिम कन्सर्ट ओसाका शहरमा गरेको छ।
ब्यान्डले यसअघि अगस्ट ८ मा टोक्यो र अगस्ट १२ मा फुकुओका शहरमा प्रस्तुति दिएको थियो। ओसाकामा पनि अघिल्ला दुई शहरमा जस्तै नेपाली दर्शकको उल्लेख्य उपस्थिति थियो। आयोजक टोलीका सबिन थकालीले कन्सर्टमा १७ सय नेपालीको जमघट भएको बताए।
ओसाकाको ‘नाम्बा ह्याच सभागृह’ मा ब्यान्डका गायक अमृत गुरुङ ‘कोशीको पानी यो जिन्दगानी’ बाट कार्यक्रमको दैलो खोलेका थिए।
कार्यक्रम अवधिभर दर्शकसँग संवाद समेत गरेका अमृतले उपस्थित सबैलाई घरी नेपाल पुगेका वेला डाँडापाखाको यात्रा गर्न प्रेरित गरे भने घरी नेपाली भाषा/संस्कृतिलाई जीवित राख्न अनुरोध गरेका थिए।
कन्सर्ट हेर्न ओसाका मात्र नभई नागोया लगायत ठाउँबाट समेत दर्शक उपस्थित थिए। यस्ता दर्शकमा जापानी पनि देखिन्थे। तिनैमध्येका एक रियोसुके इमानिशीले नेपालसँग आफ्नो पुर्खाको साइनो रहेको भन्दै नेपाली कन्सर्टमा आउँदा नेपालै पुगे जस्तो महसूस भएको खुशी साटे। रियोसुकेका हजुरबुबा तोशियो इमानिशीले मनास्लु हिमालमा सबैभन्दा पहिलो मानव पाइला टेकेको इतिहास छ।
दुई वटा म्यूजिक भिडिओ र १६ वटा गीत प्रस्तुत गरिएको कन्सर्ट दुई घन्टासम्म चलेको थियो। कार्यक्रमको बिसौनीतिर पुग्दै गर्दा ब्यान्डले ‘गाउँ गाउँबाट उठ’, ‘रेशम’ र ‘तालको पानी’ गाएर दर्शकलाई जोस्याएको थियो। त्यो ऊर्जालाई अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ ले थप चम्काएको थियो।
कार्यक्रममा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, कीबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
ओसाकामा शृङ्खलाको अन्तिम कन्सर्ट सकिएसँगै नेपथ्यको जापान यात्राले यस वर्षका लागि विश्राम लिएको छ। नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले जापानका दर्शकले तीन वटै कन्सर्टमा देखाएको हौसलाबाट आगामी दिनका लागि थप उत्साही बनाएको बताए।
सडकमा आश्रित मानिसका निम्ति खाना र बसोबासमा समर्पित मानव सेवा आश्रमसँग एक वर्षयता सहकार्य गर्दै आएको नेपथ्य संस्थाकै लागि सहयोग जुटाउन ‘मानवताको लागि सङ्गीत’ अभियान अन्तर्गत जापान यात्रामा पुगेको हो।