एमालेका केन्द्रीय विभागमा सदस्य थपिए, जिल्लामा जिम्मेवारी हेरफेर (सूची)
नेकपा (एमाले)ले १० वटा केन्द्रीय विभागमा सदस्य थपेको छ भने केही केन्द्रीय सदस्य र जिल्लाको जिम्मेवारी हेरफेर गरेको छ।
एमाले केन्द्रीय सचिवालय बैठकले विभागीय सदस्य थप्ने र जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको अन्तरपार्टी निर्देशनमा जनाइएको छ। बैठकले १० वटा केन्द्रीय विभागमा सदस्य थपेको हो।
त्यस्तै, चार वटा जिल्लामा जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य लगायत कारणले काठमाडौं इन्चार्ज अजयक्रान्ति शाक्य, मकवानपुर इन्चार्ज जुनेली श्रेष्ठ, चितवन इन्चार्ज पार्वती रावल र बैतडी इन्चार्ज पुरनसिंह दयाललाई बिदा दिइएको छ।
त्यस्तै, लामो समयदेखि क्रियाशील नरहेका अन्य नेताका विषयमा पनि अवस्था र कारण बुझेर अर्को बैठकबाट निर्णय गरिने एमालेको अन्तरपार्टी निर्देशनमा उल्लेख छ।
यसैगरी दीपकप्रकाश भट्टलाई अर्थयोजना विभागको सचिवबाट र सोभियत ढकाललाई विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागको सचिवबाट हटाइएको छ।
केन्द्रीय सदस्य केशव स्थापित र प्रमोदनारायण यादवलाई पनि बिदा गरेको छ। उनीहरूले केन्द्रीय सदस्यबाट बिदा हुन चाहेको एमालेले जनाएको छ। स्थापित गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार थिए।
यस्तै, गुरुप्रसाद बराललाई बाग्मती प्रदेशको इन्चार्ज, विद्यासुन्दर शाक्यलाई तारेकश्वर र टोखा नगरपालिकाको इन्चार्ज, झपटबहादुर बोहरालाई सामाजिक सेवा विभागको प्रमुख र टेकराज पछाईलाई कर्णाली प्रदेशको सचिव नियुक्त गरिएको छ। कर्णाली प्रदेशका सचिव कलम शाहीलाई हटाइएको छ।
अन्तरपार्टी निर्देशनको पूर्ण पाठ: