सरकारले बढाएको श्रमिकको तलब नदिने उद्योगी व्यवसायीको अडान
सरकारले बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक अहिले दिन नसकिने उद्योगी व्यवसायीले अडान राखेका छन्।
उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग परिसंघले शुक्रबार विज्ञप्ति निकालेर सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी बढाएको श्रमिकको पारिश्रमिक दिन नसक्ने जनाएको छ। परिसंघले अर्थतन्त्र मन्दीमा भएको, उच्च ब्याजदर, वस्तु र सेवाको न्यून माग, न्यून उत्पादनका कारण निजी क्षेत्रको मनोबल घटेको जनाएको छ।
परिसंघका अनुसार उद्योगको प्रकृति अनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको छ। त्यसैगरी, उद्योगी व्यवसायीले लगानीका योजना स्थगन गरिरहेका छन्। यस्तो अवस्थामा तलब वृद्धि गरिनु उचित नभएको परिसंघको भनाइ छ।
“अर्थतन्त्र शिथिल बन्दै जाने, आन्तरिक उत्पादन नबढ्ने, उत्पादन भए पनि माग नहुने, तर उत्पादन लागत बढ्दा त्यसको थप भार उद्योगमाथि पर्नेछ,” विज्ञप्तिमा भनिएको छ, “श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदाहुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र छैन।”
परिसंघले अहिलेको चुनौतीपूर्ण अवस्थामा सुधार ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउन, समग्र बजार माग बढाउने नीति अवलम्बन गर्न, उत्पादन लागत घटाउने तथा निजी क्षेत्रको मनोबल बढाउनेतर्फ अग्रसर हुन सरोकारवालालाई आग्रह गरेको छ।
सरकारले साउन ३२ गते राजपत्रमा सूचना प्रकाशित गरेर श्रमिकको तलब बढाएको थियो। बढेको तलब साउन १ देखि नै लागू हुने जनाएको छ।