यी हुन् गत वर्ष निर्यात र आयात भएका प्रमुख २० वस्तु
गत आर्थिक वर्षमा नेपालको आयात र निर्यात व्यापार दुवै खस्कियो।
नेपाल राष्ट्र ब्यांकले शुक्रबार प्रकाशित गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको वस्तु आयात गर्यो। त्यसैगरी, एक खर्ब ५७ अर्ब १४ करोड मूल्यको वस्तु निर्यात गर्यो।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ का तुलनामा आयात १६.१ प्रतिशत र निर्यात २१.४ प्रतिशतले घटेको राष्ट्र ब्यांकले जनाएको छ। उच्च आयातका कारण देशको अर्थव्यवस्थाको सन्तुलन खलबलिन थालेपछि सरकारले गत वर्ष आयात घटाउने विभिन्न उपाय अघि सारेको थियो। जसमा मोटरगाडी, महँगा मोबाइल सहितका विलासी वस्तुको आयातलाई बन्देज लगाइएको थियो। अहिले भने यस्तो बन्देज छैन।
राष्ट्र ब्यांकका अनुसार गत वर्ष स्पोन्ज आइरन (फलामको धाउ), रासायनिक मल, स्टेशनरी सामान, अलकत्रा, कागज लगायत वस्तुको आयात बढ्यो भने सवारीसाधन तथा स्पेयर पार्टस्, एमएस बिलेट (अप्रशोधित फलामे छड) औषधि, पेट्रोलियम पदार्थ, कच्चा भटमासको तेल लगायत वस्तुको आयात घटेको छ। कुल आयातमध्ये करीब ६४ प्रतिशत भारतबाट आयात भएको छ।
त्यसैगरी, जिंक शीट, अलैंची, ऊनी गलैंचा, पोलिस्टर धागो लगायत वस्तुको निर्यात बढेको थियो भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायत वस्तुको निर्यात घटेको थियो।
आयात खस्किएका कारण गत वर्ष कुल वस्तु व्यापार घाटा १५.५ प्रतिशतले कमी आई १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ भएको थयो।