जहाँ विकास थिएन, गाउँका गाउँ इसाईमा रूपान्तरित थिए
धार्मिक चीजलाई राजनीति, राज्यसँग जोड्नु जायज हो वा होइन भन्ने प्रश्न त आउँछ नै, प्रलोभन वा अभियान नै चलाएर हुने धर्म परिवर्तनलाई पनि निरुत्साहन गर्नुपर्छ।
एक्लै १५ दिन धादिङको दुर्गम उत्तरी हिमाली भेग पुगेर रिपोर्टिङ गरेको पनि २५ वर्ष बितेछ। त्यति वेला ‘जहाँ विकास पछाडि छ, चर्च अगाडि’ भनेर रिपोर्ट तयार पारेको थिएँ। अहिले त्यो रिपोर्टबारे कुराकानी गर्न बस्दा रिपोर्टिङभन्दा पनि रिपोर्ट तयार गर्दाको भोगाइ झलझली याद आइरहेको छ।
त्यति वेला पाएको दुःख फर्केर हेर्दा दुस्साहस गरिएछ कि जस्तो लाग्छ। नुवाकोट, रसुवा, धादिङ हुँदै तिप्लिङ गाउँसम्म एक फन्को लगाएको थिएँ। धुन्चेमा पुगेपछि तत्कालीन जिल्ला विकास समितिका सभापति भीमलाल हिराचनले ‘हिउँ परेको छ, नजानोस्’ भनेका थिए। तैपनि स्याफ्रुबेसीबाट पैदल हिंडें, उत्तरतिर।
पार्वतीकुण्ड पुगेपछि हिउँ पर्यो र तीन-चार दिन थुनिएँ। दुई-तीन फुट थियो। मैले सामान्य ज्याकेट मात्र लगाएको थिएँ। जाडोले साह्रै सतायो। हिउँमा घाम टल्केर चश्मा विना हिंड्न सकिंदैन भन्ने पनि थाहा थिएन। मसँग कालो चश्मा थिएन।
हिउँ थामिएपछि गन्तव्यतिर लागें। पहिलो पटक हिउँमा हिंडेको त्यहीं हो। गणेश हिमालको फेदी सोमदाङमा त धेरै दुःख पाइयो। रातभरि गोठमा सुत्नुपर्यो। हिउँ छिचोलेरै तिब्बतसँग जोडिएको गाउँ तिप्लिङ गइयो, जुन मूल गन्तव्य थियो। त्यहाँबाट झार्लाङ, री, सेर्तुङ घुमेर रिपोर्टिङ गरेको थिएँ।
त्यो रिपोर्टिङको विषयबारे अहिले सम्झिँदा आफ्नै धारणा छ। तर, काम चाहिं रमाइलो थियो। त्यो स्थलगत रिपोर्टिङले अरू रिपोर्टिङ गर्न, समाज बुझ्न मद्दत गरेको थियो।
त्यो रिपोर्टिङबाट धर्म परिवर्तनलाई हेरेको होइन। चीनसँग सीमा जोडिएका ती दुर्गम गाउँ (अहिले पनि दुर्गम नै मानिन्छन्) मा बौद्ध धर्म, झाँक्री प्रथा, बोन धर्म प्रचलनमा थिए। ती धर्मबाट एक्कासि गाउँहरू कसरी इसाई धर्ममा रूपान्तरित भए भन्ने उत्सुकताले त्यो रिपोर्टिङ गरिएको हो। जहाँ विकास केही थिएन। लगभग सबै घरधुरी नै इसाई धर्ममा रूपान्तरित थिए।
पञ्चायतकालदेखि नै यसको राजनीतिक प्रयोग पनि भएको रहेछ। तल्लो भेगका बुद्ध धर्मावलम्बी र इसाईबीच एक खालको द्वन्द्व भएको पनि देखियो। कारण के हो त भनेर त्यहाँको समाज, वस्तुस्थिति, सामाजिक, आर्थिक अवस्था बुझ्न रिपोर्टिङ गरिएको हो।
त्यतिखेर म काठमाडौं टुडे म्यागेजिनमा काम गर्थें। राजेन्द्र दाहाल खोज पत्रकारिता केन्द्रको सम्पादक हुनुहुन्थ्यो। उहाँले नै यो रिपोर्टिङ गर्न प्रोत्साहन गर्नुभएको थियो।
त्यहाँ पुगेपछि लामो समयसम्म साथीभाइ, सहकर्मीसँग सम्पर्क भएन। अहिले जस्तो मोबाइल फोन थिएन। गाउँभरमा एउटा पीसीओ रहेछ र त्यहींबाट निकै दिनपछि राजेन्द्र दाइलाई फोन गरें। राजेन्द्र दाइ पछिसम्म यो घटना सम्झनुहुन्थ्यो।
">
धादिङबेसी हुँदै गोलचक्कर लगाएर फर्किएपछि समाचार लेखेको हुँ। यसपछि नै हो मैले बढी नै स्थलगत रिपोर्टिङ गर्न थालेको। आफूले आफैंलाई प्रेरणा दिएको रिपोर्टिङ पनि हो।
काठमाडौं वा सुगम क्षेत्रमा रिपोर्टिङ गर्दाभन्दा दुर्गम भेगमा पुग्दा ‘नेपाली गाउँ के हो?’ भन्ने बुझाउँछ। अहिले पनि सम्झिन्छु, झार्लाङ पुग्दा खाना खानै पाइएन। कहाँ किन्न पाइन्छ भनेर सोध्दा स्थानीय बासिन्दाले ‘भात त पाइँदैन, ढिंडो पाइन्छ’ भनेका थिए। कहाँ भनेर सोधेको त पुलिस थानातिर देखाए।
थानामा ढिंडो र खसीको मासु खान पाइयो। धन्न, म जाँदा स्थानीय र पुलिसको भोज जस्तो चलेको रहेछ। धेरै दिनपछि ढिंडो र मासु खान पाउँदा मजा आएको थियो। त्यसअघि निकै दिनदेखि मकै, आलु मात्रै खान पाइरहेको थिएँ।
राज्यले नागरिकको विकासप्रतिको अपेक्षा पूरा नगर्दा जीवनस्तर उकास्न अरू केही उपाय खोजिएको थियो। यही सिलसिलामा अन्य धर्ममा प्रवेश गरेर फाइदा हुन्छ कि भनेर पनि सोच्नेहरू थिए, त्यो क्षेत्रमा। यस्तो खालको साह्रै दुःख एकदमै नजिकबाट देखें। काठमाडौंमा रिपोर्टिङ गर्दा त नेपाली समाज राम्रै छ भन्ने धारणा बोकेर हिंडिएको थियो। मैले सुनेसम्म अहिले पनि त्यो भेगमा गाडी पुग्दैन। २५ वर्षसम्म पनि खासै सुधार नभएको एउटा उदाहरण हो, यो ठाउँ। नेपालमा यस्ता गाउँ अनगिन्ती छन्।
धर्म परिवर्तनप्रति मेरो धारणा अनुदार छैन। स्वेच्छाले जुनसुकै धर्म अँगाल्न पाइन्छ, पाउनुपर्छ। त्यसरी किन धर्म परिवर्तन गरिरहेछन् त भन्ने चाहिं बुझ्न खोजिरहेको थिएँ। यो ठाउँको रोचक लागेको कुरा चाहिं अन्यत्र झाँक्री प्रथा वा बोन धर्मबाट बौद्ध धर्ममा रूपान्तरण भएको पाइन्छ, तर यहाँ भने सिङ्गा गाउँहरू नै इसाई धर्मतिर रूपान्तरित थिए। कसरी? किन? यसका कारक तत्त्वहरू के रहेछन् त भन्ने बुझ्न मन लागेको थियो।
राज्यले विकास दिन सकेको छैन। जीविकोपार्जनको विकल्प छैन। यस्तो अवस्थामा कसैले त्यहाँ पुगेर संगठित गरेपछि यसले नयाँ कुरा हुन्छ कि भनेर धेरै सोचविचार नगरी पनि धर्म परिवर्तन गर्दा रहेछन्। एउटा परिवार लागेपछि अर्को लाग्यो। यसरी रूपान्तरित हुने कुरामा चक्रीय असर पनि हुने रहेछ। राजनीतिक रूपले पनि समूह समूहलाई प्रवर्द्धन गर्ने हुँदो रहेछ।
बौद्ध धर्मावलम्बीले चर्च भत्काइदिने र इसाईले गुम्बा भत्काइदिने छिटफुट घटना पनि भएका थिए। प्रायः हिन्दूबाट इसाईमा रूपान्तरित भएको बढी देखेका छौं। अहिले पनि काठमाडौंमा बौद्ध धर्मभित्र बज्रयानबाट थेरवादमा रूपान्तरित हुने थुप्रै छन्। बज्रयान काठमाडौंको मौलिक धर्म पनि हो।
आदिवासी, जनजाति गाउँमा प्रायः बोन धर्मावलम्बी बौद्ध धर्ममा, बौद्ध धर्मावलम्बी हिन्दूमा, हिन्दू अन्य धर्ममा रूपान्तरित हुने प्रवृत्ति नेपालमा देखिइरहन्छ। धादिङका यी गाउँमा भने बोन वा झाँक्री प्रथाबाट एकै पटक इसाई भएका थिए, जुन मलाई आफैंमा नौलो लागेको थियो।
रिपोर्टिङले त्यहाँको वस्तुस्थिति बाहिर ल्याइदिने काम मात्रै गरेकाले गाउँलेको नराम्रो प्रतिक्रिया आएन। काठमाडौंबाट भौतिक हिसाबले नजिक भए पनि दुर्गम छ। विकास भएको छैन। रोजगारी छैन। काम खोज्न बाहिर जानुपर्छ। यो अवस्थालाई उजागर गरिदिएकाले सकारात्मक रूपमै लिए। अन्य रिपोर्टिङमा जस्तै कोही कसैले साह्रै मन पराउने र कसैले दुत्कार्ने त स्वाभाविक नै हो।
अर्को, टीमले नै एउटा प्रक्रियाबाट सम्पादन गरेर कसरी परिष्कृत लामा लामा स्थलगत रिपोर्टिङ तयार गरिंदो रहेछ भन्ने राम्रो अनुभव भयो, त्यो रिपोर्टिङबाट।
धर्म मान्ने वा नमान्ने, परिवर्तन गर्ने नागरिकको स्वतन्त्रता हो। धाकधम्की, प्रलोभनबाट धर्म परिवर्तन गर्न पाइँदैन। अहिले धर्म परिवर्तनबारे दुई वटा धार देखिन्छन्। पहिलो, धर्म परिवर्तन धेरै भयो, त्यो रोकिनुपर्छ भन्ने। पुरानो हिन्दू संरचना अनुसार हिन्दू राज्यमा जानुपर्छ भन्ने।
दोस्रो, हिन्दूत्वको नाममा राजनीति गर्ने। हिन्दू आस्थालाई भजाएर राजनीति गर्ने छिमेकी देशमा बढेको प्रवृत्ति हाम्रोमा नि छिरिरहेको छ।
अर्कातिर आम तहमा इसाई धर्ममा रूपान्तरित भएकाले हिन्दूत्वमा जानुपर्छ भन्ने धर्मका दुई ध्रुव देखिइरहेका छन्, जुन चिन्ता गर्नुपर्ने तहको छ। किनभने यी दुई धारले अन्ततः धार्मिक अतिवादतिर लैजान्छन्। धार्मिक चीजलाई राजनीति, राज्यसँग जोड्नु जायज हो वा होइन भन्ने प्रश्न त आउँछ नै, प्रलोभन वा अभियान नै चलाएर हुने धर्म परिवर्तनलाई पनि निरुत्साहन गर्नुपर्छ।
यो रिपोर्टिङका क्रममा पार्वतीकुण्डमा हिउँले थुनिएँ। त्यो पनि फाइँदै भयो। किनकि त्यसमा अर्को रिपोर्टिङ गर्न पाएँ।
त्यो ठाउँमा नेपालको भूराजनीतिक इतिहास पनि जोडिन्छ। सन् १९६० देखि १९७० को बीचमा नेपालको उत्तरी भेगमा ओलाङ्चुङगोलादेखि हुम्लासम्म तिब्बती खम्पा विद्रोहीले सशस्त्र क्याम्प राखेका थिए। मुस्ताङमा केन्द्र थियो। साना विमान उत्रन सक्ने विमानस्थल बनाइएको थियो। पार्वतीकुण्डको मुनिपट्टि थाम्बुचेतमा पनि विमानस्थल रहेछ। त्यसबारे पनि लेखें।
यस्तै, पार्वतीकुण्डदेखि सोमदाङ फेदीसम्म पुग्दा पश्चिमा शैलीका बंगला देखें। बुझ्दै जाँदा ती त सेनाका जर्नेल, कर्णेलका रहेछन्। त्यसमध्येको एउटा बंगला पूर्व प्रधानसेनापति सच्चितशमशेर जबराको पनि रहेछ। अरू थुप्रै सैनिक अधिकारीका बंगाला थिए, अहिले उनीहरूको नाम बिर्सिएँ।
कसरी सैनिक अधिकारीले अनकन्टर ठाउँमा कसरी घर बनाए? पार्वतीकुण्डदेखि सोमदाङ फेदीसम्म नेपाली सेनाले सडक ट्र्याक खनेको रहेछ। त्यही क्रममा सैनिक अधिकृतहरूले सैनिक जनशक्तिलाई नै व्यक्तिगत लाभका लागि परिचालन गरेर बंगला बनाइएका रहेछन्। त्यो रिपोर्टिङ पनि गरेको थिएँ।
भव्य बंगला, तर रुग्न मात्रै मानिस राखिएको थियो। कतिपयले चाहिं स्याउ खेती पनि गरेका रहेछन्। सोमदाङ सडकको ‘बाइप्रोडक्ट’ रहेछन्, ती भवन। यो अनपेक्षित थियो।
त्यो बाटो कुन प्रयोजनका लागि खनिएको रहेछ? मनमा प्रश्न उब्जियो। अनि त्यही क्रममा रिपोर्टिङ गर्न थालें।
जब सोमदाङ पुगें तब थाहा पाएँ, सरकारले गणेश हिमाल सिसा खानी खोलेको र त्यसका लागि सेनालाई प्रयोग गरेर सडक ट्र्याक बनाइएको रहेछ। त्यहाँबाट रुबी जस्ता महँगा पत्थर उत्खनन गरिंदो रहेछ। पत्थर उत्खनन गर्न सुरुङ खनिएको थियो। उत्खननमा निजी व्यापारिक समूहलाई पनि संलग्न गरिएको रहेछ। तर, कति उत्खनन भइरहेछ, कसले बेचिरहेछ जस्ता अभिलेख कसैसँग थिएन।
अनियमितताको सम्भावना देखेपछि रिपोर्टिङ गरें। यो रिपोर्टले हल्लीखल्ली मच्चाएको थियो। छानबिन समिति बन्यो। संसद्मा विषय उठ्यो।
पत्रकारिता धेरै खालको हुन्छ। कसैलाई फिचर, कसैलाई व्यक्तिचित्र, कसैलाई अनुसन्धानमूलक समाचार लेख्न मन पर्ला। कसैलाई समसामयिक राजनीतिक घटनाक्रमको तात्तातो अपडेट गर्न मन पर्ला, कोही प्रतिक्रिया लिन मन पराउलान्। कुन खालको पत्रकारिता गर्ने भन्ने हो। पत्रकारितामा यी सबै चाहिन्छ। तर, हाम्रोमा यो विविधतामा पनि राम्रो समाचार बनाउनेमा समस्या भयो। त्यो समस्याको अभ्यासकर्ता म पनि भएँ।
आर्थिकसँगै प्रविधिले ल्याएको परिवर्तनले पत्रकारिता संक्रमणकालीन अवस्थामा छ। त्यसैले मिडिया हाउसले अनुसन्धनात्मक रिपोर्टिङमा ठूलो लगानी खन्याउन केही समस्या होला। कस्तो रिपोर्टिङ गर्ने भन्नेमा रिपोर्टरमा पनि भर पर्छ। स्रोतसाधन कम हुँदा पनि राम्रो गर्न खोज्ने प्रतिबद्धताले आफूलाई अगाडि लैजान सकिन्छ।
न्यूजरूममा खोजमूलक समाचारमा मात्र रुचि र दक्षता भएका रिपोर्टर हुँदैनन्। पहिचान गरेर त्यस्तो समाचार दिने वातावरण बनाउनुपर्छ। नभए सतही पत्रकारिता मात्रै हुन्छ।
अहिले मिडियाको संख्या त बढिरहेको छ, तर ठूला मिडिया हाउस, जहाँ सयौं एकै ठाउँ काम गर्छन्, ती खुम्चिरहेका छन्।
राम्रो रिपोर्टिङ सानै मिडियामा आए पनि प्रभाव पार्ने वातावरण छ, सामाजिक सञ्जालले गर्दा। फाट्टफुट्ट राम्रा रिपोर्टिङ नआएको त होइन, नियमित रूपमा भने आएको देखिंदैन। यो मिडियामा, यो रिपोर्टरबाट यस्तो राम्रो रिपोर्ट नियमित आउँछ भन्ने चाहिं कमी छ।
अब सूचना मात्रै दिनलाई पत्रकारिता चाहिंदैन। सबै सूचना मोबाइलबाटै पाइन्छ। सूचना त ‘ओभरफ्लो’ भइरहेको छ। गहन सामग्री पस्कनेतर्फ गएनौं भने पत्रकारिताको यो संक्रमणमा हराइन्छ।
मानिसले विश्लेषणात्मक, नयाँ र अनुसन्धनात्मक विषय नै खोजिरहेका हुन्छन्। ‘लङ फर्म’ लेखनीको सीप, क्षमता झन् चाहिन्छ। प्रशोधित सूचना सहितका ठोस रिपोर्टिङ पत्रकारितामा खाँचो देखिन्छ। अन्तर्वार्ता मात्र लिएर, अपडेट मात्र गरेर पत्रकारिताले समाजको वास्तविकता देखाउन सकिंदैन। गहन सामग्री बढाउनैपर्छ। नत्र डिजिटल माध्यमको यो दबाबले पत्रकारितालाई अर्कैतिर लगिदिन सक्छ।
प्रविधि, क्षमताले पत्रकारिता पहिलेभन्दा उन्नत नै देख्छु। तर, राम्रो रिपोर्टिङको नियमितता पाइँदैन। पत्रकार भएपछि लेखाइ राम्रो हुनुपर्यो। अहिले लेखन सीप विकास गर्न मेहनत कम छ। राम्रो लेखनी भएका पत्रकार मेरो ठम्याइमा आठ-दश जना मात्रै छन्, जसको बाइलाइन देखें कि पढिहाल्छु।
राम्रो पत्रकारिता गर्ने हो भने सम्पादक होइन, रिपोर्टर नै हुनुपर्छ। म सानै उमेरमा सम्पादक भएँ। नेपाल म्यागेजिनको सम्पादक हुँदा २७-२८ वर्षको थिएँ। चार-पाँच वर्षपछि कान्तिपुरको सम्पादक भएँ। त्यहाँ १४-१५ वर्ष बित्यो।
साहसिक पत्रकारिता गर्न, समाजसँग गाढा गरी भिज्न रिपोर्टरका रूपमा जति मजा हुन्छ, सम्पादकका रूपमा हुँदैन। रिपोर्टरले आफ्नो बिट वा जिम्मेवारीको रिपोर्टिङ गर्ने मात्र हुन्छ। सम्पादकलाई व्यवस्थापकीय र न्यूजरूमको टाउको दुखाइ, टीम परिचालन लगायतका थुप्रै झन्झट हुन्छन्।
हाम्रोमा त धेरै कुरा व्यावसायिक हुन बाँकी छ। त्यसैले पनि सम्पादकलाई झन् अप्ठ्यारो छ। यस हिसाबले रिपोर्टरलाई सम्पादकलाई भन्दा बढी स्वतन्त्रता हुन्छ। यसको छुट्टै मजा पनि छ। अझै लामै समय रिपोर्टर नै भईराख्नुपर्थ्यो जस्तो महसूस हुन्छ। यद्यपि अब घुमेर ‘लङ फर्म’ लेखनीको योजनामा छु। तत्काल भने एउटा किताबको काममा छु।
यो रिपोर्ट छापिएको केही समयपछि हिमाल म्यागजिन शुरू भयो। म शुरूआती टीममा थिएँ। सम्पादक राजेन्द्र दाहाल हुनुहुन्थ्यो। उहाँले मलाई डुलेर रिपोर्टिङ गर्न प्रोत्साहन गर्नुभयो। मेरो ‘इमेज’ पनि त्यस्तै बनिसकेको थियो। त्यतिखेर धेरै ठाउँमा स्थलगत रिपोर्टिङ गरें।
अब २५ वर्षअघि पुगेको धादिङ हेर्न मन छ। त्यति वेला मेरो हेराइ अपरिपक्व पो थियो कि! म सिकारु नै थिएँ। त्यतिखेर विशुद्ध रिपोर्टरको हिसाबले समाज, संसारलाई हेरेको थिएँ।
अहिलेको अनुभव र बुझाइले ती ठाउँलाई हेर्ने-बुझ्ने तरीका अलि फरक हुन्छ। आफ्नै मूल्याङ्कन, तुलना गरेर बुझ्न, लेख्न मन छ। समाजमा आएको परिवर्तन ती ठाउँमा पुगेरै बुझ्न मन छ। अहिले फुर्सद पनि भएको छ, अब डायरी पल्टाउँदै ती ठाउँमा फेरि पुग्छु।
(पत्रकार शर्मासँग मनबहादुर बस्नेतले गरेको कुराकानीमा आधारित।)