डा. दिलजान मन्सुरको उपचार पद्धति अवैज्ञानिक: मेडिकल काउन्सिल
डा. दिलजान मन्सुरले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको ठहर गर्दै वैज्ञानिक मूल्यमान्यता अनुसार मात्र बिरामीको उपचार गर्न नेपाल मेडिकल काउन्सिलले सचेत गराएको छ।
डा. मन्सुरले काठमाडौंको मैतिदेवीमा सञ्चालन गर्दै आएको एफडीएच क्लिनिकमा गैरव्यावसायिक ढङ्गले उपचार गर्ने गरेको भन्दै काउन्सिलमा उजुरी परेको थियो। त्यसमाथि छानबिनपछि साउन २६ गते बसेको काउन्सिलको पूर्ण बैठकले उपचार गर्न आएका बिरामीका लागि अपनाइएको पद्धति अवैज्ञानिक ठहर गरेको हो।
डा. मन्सुरले सबै बिरामीलाई एउटै कक्षमा राखी स्थापित वैज्ञानिक मूल्यमान्यता विपरीत एकै प्रकारको परामर्श गरेको, सबै प्रकृतिका रोगका लागि एउटै भोजन योजना दिएको, अन्य चिकित्सकले सिफारिश गरेका औषधि विना तथ्य थपघट गरेको काउन्सिलले जनाएको छ। त्यस्तै, जारी प्रेस्क्रिप्सनमा मापदण्ड पालना नगरिएको, त्यहाँको उपचार पद्धति वैज्ञानिक सिद्धान्त अनुरूप नरहेको पनि छानबिनमा देखिएको जनाएको छ।
काउन्सिलले सम्बन्धित विषयका विज्ञ चिकित्सकलाई राखेर डा. मन्सुरको उपचार पद्धतिमाथि समीक्षा गरेको थियो। विज्ञ चिकित्सकले डा. मन्सुरको उपचार पद्धतिले सबै बिरामीलाई शारीरिक तौल घटाउन स्थापित विधि किटो डाइट सिफारिश गरेको र दीर्घरोगीको नियमित औषधि रोकिनाले बिरामीको स्वास्थ्यमा गम्भीर क्षति पुग्ने सम्भावना रहेको निष्कर्ष निकालेको हो।
काउन्सिलले गरेको निर्णयमा ‘स्थापित वैज्ञानिक मूल्यमान्यता अनुरूप उपचार नगरेको पाइएकोले निज डा. दिलजान मन्सुरलाई अब उपरान्त स्थापित वैज्ञानिक मूल्य मान्यता अनुरूप उपचार गर्नु गराउनु भनी अन्तिम पटकलाई सचेत गराउने’ उल्लेख छ।
यसअघि डा. मन्सुरको उपचार विधिले स्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै बिरामीले गुनासो गरेपछि काठमाडौं महानगरपालिकाले क्लिनिक बन्द गराएको थियो।