कोशीका मुख्यमन्त्रीले भदौ ४ मा विश्वासको मत लिने
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री थापाले विश्वासको मत लिन शुक्रबार प्रदेश सभा सचिवालयमा विश्वासको मतको प्रस्ताव सम्बन्धी सूचना पेश गरेका छन्। विश्वासको मत लिनुभन्दा दुई दिनअघि सूचना दिनुपर्ने व्यवस्था छ।
प्रदेश सभा सचिवालयमा दिएको सूचनामा थापाले भनेका छन्, ‘कोशी प्रदेश सभाबाट विश्वासको मत लिन चाहेकोले मिति २०८०/०५/०३ गतेको कार्यसूचीमा समावेश गर्ने गरी प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन सहित) को नियम १२८ को उपनियम १ र २ बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिएको छु।’
उपसभामुख सिर्जना दनुवारले भदौ ४ गते विश्वासको मतका लागि समय तोकेकी छन्। यसका लागि भदौ ४ गते दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ।
उनी संविधानको धारा १६८ को उपधारा २ बमोजिम साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए। यस धारामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ।
दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने उपधारा ४ मा व्यवस्था गरिएको छ। त्यही व्यवस्था अनुसार थापाले विश्वासको मत लिन लागेका हुन्।
९३ सदस्यीय प्रदेश सभामा सत्तारूढ गठबन्धनका ४७ सांसद छन्। त्यस्तै, विपक्षमा रहेका नेकपा (एमाले)का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ सांसद छन्। विश्वासको मतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।