भ्रष्टाचारी र अपराधी जोसुकै भए पनि छाडिंदैन: गृहमन्त्री श्रेष्ठ
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले शुरूआत गरेको भ्रष्टाचार विरुद्धको अभियानमा जोसुकै दोषी भए पनि उम्कन नदिइने बताएका छन्।
शुक्रबार गोरखाको अजिरकोट गाउँपालिका–३, भच्चेकस्थित भच्चेक आधारभूत अस्पतालको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार विरुद्धको अभियान नरोकिने बताए। “कोही निर्दोष फस्ने काम हुँदैन,” श्रेष्ठले भने, “तर कोही दोषी र अपराधीलाई छोड्ने काम पनि हुँदैन।”
अपराध गर्नेलाई अनुसन्धान गरेर तथ्य प्रमाणका आधारमा कानूनको दायरामा ल्याएर दण्डित गरिने उनले बताए। “आम मिटरब्याज पीडित जनतालाई न्याय दिन मिटरब्याज विरुद्धको अभियान पनि चल्दै छ,” उनले भने, “जति जति सुशासनको अभियान चल्दै छ र जनताको पक्षमा काम हुँदै छ, त्यति त्यति नै भ्रष्टाचारी र तस्कर आत्तिएर सरकारलाई अगाडि बढ्न नदिन, भाँजो हालेर रोक्न विभिन्न षड्यन्त्र गरिरहेका छन्।”
राम्रो काम गर्दा खराब प्रवृत्ति विरुद्धमा जुध्नुपर्छ भन्ने कुरा राम्रोसँग बुझेको उनले जिकिर गरे। “सरकारले राम्रो काम गर्न थालेपछि नराम्रो काम गर्नेले त्यसलाई सहजै अगाडि बढ्न दिंदैनन्,” श्रेष्ठले भने, “यो नियम नै हो, यसकारण अहिले दलाल, ठग, भ्रष्टाचारी र तस्कर छटपटिए, तिनका संरक्षक सलबलाए, सरकारलाई अप्ठेरो पारे भनेर तैं चूप मै चूप भएर बस्ने पक्षमा सरकार छैन, त्यसरी हामी बस्दैनौं।”
गृहमन्त्री श्रेष्ठले मन्त्रीलाई धम्की दिएर, घेराबन्दीमा राखेर गलत प्रवृत्ति बोकेका कसैको पनि सपना पूरा हुन नदिने बताए। “मन्त्रीलाई काम गर्न नदिएर, सरकारलाई अप्ठ्यारो पारेर भ्रष्टाचार विरुद्धको अभियान रोकिन्छ भनेर कसैले नसोचे हुन्छ,” उनले भने।