रेशम चौधरीबारे सर्वोच्चको पूर्ण पाठ स्वागतयोग्य : जनमोर्चा
सरकारले सत्ता संरक्षणका लागि राजनीतिक सौदाबाजीका आधारमा रेशमलाई आममाफी दिने निर्णय गरेको जनमोर्चाको धारणा छ।
राष्ट्रिय जनमोर्चाले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीको सन्दर्भमा सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको फैसलाको पूर्ण पाठ स्वागतयोग्य भएको बताएको छ। जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसलाको पूर्ण पाठ स्वागतयोग्य भएको बताएका हुन्।
विज्ञप्तिमा भनिएको छ, “यो फैसलाले आगामी दिनमा सरकारले सत्तास्वार्थबाट प्रेरित भई जघन्य फौजदारी अपराधमा संलग्नलाई आममाफी दिन सक्ने कुरालाई नियन्त्रण गर्न सके देशमा सुशासन कायम गर्न मद्दत पुग्नेछ।”
सरकारले सत्ता संरक्षणका लागि राजनीतिक सौदाबाजीका आधारमा रेशमलाई आममाफी दिने निर्णय गरेको जनमोर्चाको धारणा छ।
कैलालीको टीकापुरमा २०७२ भदौ ७ मा नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) लक्ष्मण न्यौपाने सहित आठ जना सुरक्षाकर्मी र एक जना नाबालकको हत्या भएको थियो। त्यस घटनाको मुख्य योजनाकार रेशम चौधरी रहेको तीनै तहका अदालतको ठहर छ।
जिल्ला अदालत र उच्च अदालतले रेशमलाई जन्मकैद गरेको फैसला सर्वोच्चले गत जेठ २ गते सदर गरेको थियो। सोही मुद्दाको पूर्ण पाठमा साउन ३१ गते सार्वजनिक भएको फैसलाको पूर्ण पाठमा रेशम चौधरीको सजाय मिनाहा असंवैधानिक र न्यायिक विचलन भएको उल्लेख छ।
टीकापुर घटना अत्यन्त क्रूर, दर्दनाक र कारुणिक रहेको साथै यो घटना पीडित र प्रभावित पक्षका लागि मात्र नभई नेपाली समाजलाई चिरकालसम्म चहराइरहने एउटा बिर्सनलायक, तर कहिल्यै बिर्सन नसकिने जघन्य फौजदारी कसूर भएको पनि पूर्ण पाठमा उल्लेख छ।