दुई युवाको ज्यान गएपछि सुरक्षित तरीकाले राजमार्ग विस्तार गर्न निर्देशन
दुई दिनको अन्तरालमा २१ वर्षीय अभिषेक न्यौपाने र २७ वर्षीय सुरज गिरीले चलाएको मोटरसाइकल निर्माणाधीन राजमार्गमा ट्रक र मिनिट्रकसँग ठोक्किएर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको थियो।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार कार्य सुरक्षित तरीकाले गर्न निर्देशन दिइएको छ। लगातार दुई दिन दुई युवाले ज्यान गुमाएपछि बिहीबार प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले राजमार्ग विस्तार गर्दा दुर्घटना नहुने किसिमले काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
निर्माणाधीन राजमार्ग अन्तर्गत भैंसेपाटी सडकखण्डमा साउन ३० गते मोटरसाइकल दुर्घटनामा परी धुलिखेल नगरपालिका-८ का २१ वर्षीय अभिषेक न्यौपानेको निधन भएको थियो। यस्तै, साउन ३१ गते धुलिखेलको बाँसघारी नजिकै मिरावेल चोकमा प्यूठान घर भई बनेपामा लघुवित्तमा कार्यरत २७ वर्षीय सुरज गिरीको निधन भएको थियो। दुवै जनाले चलाएका मोटरसाइकल निर्माणाधीन क्षेत्रमा ट्रक र मिनिट्रकसँग ठोक्किएका थिए।
अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक-धुलिखेल १५.५ किलोमिटर सडकखण्ड चार लेन बनाउने काम भइरहेको छ।
उक्त आयोजनाका इन्जिनीयर जंगबहादुर महर्जनले सडक दुर्घटना हुन नदिन नियमित अनुगमन गर्न थालिएको पनि बताए। “सडकका खाल्डाखुल्डी तत्काल पुर्न, ट्राफिक चिह्नलाई सही स्थानमा राख्न तथा निर्माण सामग्रीलाई सडक अवरोध नहुने गरी राख्न व्यवसायीलाई निर्देशन दिएका छौं,” उनले भने।
साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि २०७९ फागुनदेखि उक्त सडकखण्ड विस्तार थालिएको थियो।
राजमार्ग अन्तर्गत पहिलो चरणमा साँगाबाट धुलिखेलसम्म ८.४ किमी सडकखण्ड विस्तारका लागि रु.चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सूर्यविनायक-साँगा सडकखण्ड ७.५ किमी विस्तारका लागि रु.तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भई काम शुरू भएको हो।