कारागारबाट स्नातक पढ्न पाए, परीक्षा दिन पाएनन्
स्थानीय प्रशासनले समन्वय नगरिदिंदा भरतपुर कारागारमा रहेका एक कैदीले स्नातक तह दोस्रो वर्षको परीक्षा दिन पाएका छैनन्।
भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा बीए दोस्रो वर्षमा अध्ययनरत २६ वर्षीय अभिषेक धमला केही महीनादेखि परीक्षाको तयारीमा थिए। भरतपुर कारागारमा रहेका अभिषेकले परीक्षा फारम पनि भरेका थिए।
त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरिरहेको स्नातक तह दोस्रो वर्षको परीक्षा अन्तर्गत उनको साउन २८ मा पहिलो परीक्षा थियो। सबै तयारी पूरा भए पनि उनले परीक्षा दिन पाएनन्।
उनले कारागारमा हारगुहार गरे। उनकी आमाले पनि सक्दो प्रयास गरिन्। गुहार्नुपर्ने सबै निकाय गुहारिन्। “अघिल्लो दिनसम्म पनि परीक्षा दिन पाउँछ भन्दै थिए,” उनकी आमा अल्पा धमालाले भनिन्, “अन्तिममा आएर रोकियो।”
२०७७ वैशाखबाट कैद भुक्तान गरिरहेका अभिषेकले स्नातक तह पहिलो वर्षको सबै परीक्षा भने कारागारबाटै दिएका थिए। कक्षा १२ सम्म पढेका उनी कारागारबाटै स्नातकमा भर्ना भएका थिए। “पहिलो वर्षको त्यहींबाट दिएको थियो,” उनकी आमाले भनिन्।
पहिलो परीक्षा रोकिए पनि दोस्रो दिन पाउँछु भन्ने आशामा थिए उनी। उनको दोस्रो परीक्षा साउन ३२ मा थियो। “दोस्रो परीक्षा पनि छुट्यो,” उनले भने।
कारागारमा सोध्दा प्रहरीका कारण परीक्षा रोकिएको जानकारी दिएको धमलाले सुनाइन्। “कारागारबाटै भए पनि पढाइ पूरा गरोस् भन्ने थियो, परीक्षा नै दिन पाएन,” उनले भनिन्।
परीक्षा नियन्त्रण कार्यालय (पनिका) र कारागार व्यवस्थापन विभागको कार्यविधि फरक पर्दा अभिषेक परीक्षा दिनबाट वञ्चित भएका हुन्। यसअघिका वर्षमा कारागार नै परीक्षा केन्द्र तोकेर कैदीबन्दीले परीक्षा दिने व्यवस्था हुने गरेको थियो। यसवर्ष त्रिवि प्राज्ञिक परिषद्ले कारागार परीक्षा केन्द्र स्थगनको निर्णय गरेपछि समस्या भएको हो। परिषद्को २०७९ चैत २९ गतेको बैठकले कारागार परीक्षा केन्द्र स्थगन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।
यस विषयमा पनिकाले देशभरका क्याम्पसमा वैशाख ११ गते परिपत्र गरेर जानकारी दिएको थियो। कैदीबन्दीले परीक्षामा सामेल हुन चाहेमा सुरक्षा निकायको समन्वयमा परीक्षा केन्द्रबाटै परीक्षा दिनुपर्ने परिपत्रमा उल्लेख छ। सुरक्षा निकायको जिम्मेवारीमा मात्रै परीक्षा दिने व्यवस्था गरिएको छ।
अभिषेकले स्नातक तह प्रथम वर्षको परीक्षा कारागारबाटै दिएका थिए। यस वर्ष पनि परीक्षा दिन पाऊँ भनी उनले कारागार प्रशासनलाई निवेदन दिएका थिए। कारागार प्रशासनले पनिकाबाट कारागार केन्द्र स्थगन भएको जानकारी उनलाई दिएको थियो।
त्यसपछि कारागार प्रशासनले अभिषेकको परीक्षा केन्द्र तोकिएको मैयाँदेवी कन्या क्याम्पसमा जाँच दिने तयारी गरेको थियो। तर, सुरक्षा समन्वय नहुँदा उनी परीक्षा दिनबाट वञ्चित भए।
कारागार व्यवस्थापन कार्यविधि, २०७३ को परिच्छेद ३ को दफा ११ (९) मा कारागार नै केन्द्र तोकेर कैदीबन्दीले परीक्षा दिन पाउने व्यवस्था छ। तर, पनिकाले केन्द्र स्थगन गरेपछि आफूहरूले परीक्षा सञ्चालन गर्न नसकेको भरतपुर कारागारका निमित्त प्रमुख लेखनाथ पौडेलले बताए।
कारागार प्रशासनले परीक्षाको सहजताका लागि पहल पनि गरेको थियो। वीरेन्द्र बहुमुखी क्याम्पसले साउन १४ गते कारागारलाई पत्र लेख्दै पनिकाको निर्णय अनुसार केन्द्र तोकिएको क्याम्पसबाट मात्र परीक्षा लिन सकिने बताएको थियो। क्याम्पस प्रमुख दयाराम पौडेलले पनिकाको परिपत्र उद्धृत गर्दै कारागारमा परीक्षा लिन नसकिने जानकारी गराएका थिए।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख रामेश्वर कार्कीले सुरक्षा संवेदनशीलताका कारण परीक्षा केन्द्रमा लगेर परीक्षा दिने वातावरण मिलाउन नसकिएको बताए। “कारागारमा भएका सुरक्षाकर्मीले त्यहीं सुरक्षा दिने कि परीक्षार्थीको सुरक्षामा लाग्ने भनेर हामीलाई व्यवस्थापन गर्न गाह्रो भएकाले परीक्षामा सहभागी गराउन नसकिएको हो,” एसपी कार्कीले भने।
कैदीबन्दीले शिक्षाको अधिकारबाट वञ्चित हुनु मानव अधिकारको उल्लंघन भएको राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय प्रमुख यज्ञप्रसाद अधिकारीको भनाइ छ। अधिकारीले भने, “जे-जसरी हुन्छ, परीक्षा दिने वातावरण बनाउनुपर्छ।”